काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन र माघ ११ को राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी आन्तरिक विशेष परिपत्र जारी गरेको छ । पार्टी एकता प्रक्रियापछि आयोजना गरिएका एकता सन्देश सभा भव्य रूपमा सफल भएको निष्कर्ष निकाल्दै नेकपाले अबको सम्पूर्ण ध्यान निर्वाचन र उम्मेदवार चयनमा केन्द्रित गर्दै आन्तरिक परिपत्र गरेको हो ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालद्वारा हस्ताक्षरित आन्तरिक परिपत्रमा उम्मेदवार बन्नका लागि कडा योग्यता र पारदर्शी मापदण्ड तय गरिएका छन् । पार्टीले आफ्ना मातहतका समितिलाई यही पुस ११ गतेभित्र उम्मेदवारको सिफारिस गरिसक्न कडा निर्देशन दिएको छ ।
नेकपाले यसपटकको निर्वाचनमा नयाँ पुस्तालाई समेट्ने विशेष रणनीति अख्तियार गरेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी अर्थात् युवा र एक जना महिलासहित अधिकतम ५ जनाको नाम पठाउन भनिएको छ ।
युवा र लोकप्रिय अनुहारलाई प्राथमिकता दिएर चुनाव जित्ने रणनीति पार्टीले बनाएको देखिन्छ । नातावाद र परिवारवादको चर्को आलोचना भइरहेका बेला नेकपाले उम्मेदवार चयनमा कडा नियम लगाएको छ । परिपत्रमा स्पष्ट भनिएको छ, एउटै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने । यसले पार्टीभित्र हुनसक्ने पारिवारिक विरासतको राजनीतिलाई निरुत्साहित गर्ने लक्ष्य राखेको छ ।
उम्मेदवारको नैतिक र आर्थिक आचरणमा नेकपाले कुनै सम्झौता नगर्ने देखिएको छ । अदालतबाट भ्रष्टाचारमा दोषी ठहरिएका, कर वा राजस्व नतिरेका र कुनै पनि प्रकारको कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् । साथै, वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन, घरेलु हिंसा वा यौन उत्पीडन जस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई पनि उम्मेदवारको दौडबाट बाहिर राखिएको छ ।
पार्टीले उम्मेदवार सिफारिससँगै निर्वाचन क्षेत्रको ुवस्तुगत अवस्थाुको रिपोर्ट पनि मागेको छ । जसमा २०७९ को निर्वाचनमा प्राप्त मत, नयाँ उदय भएका पार्टीको अवस्था र स्थानीय तहमा अन्य दलसँगको सम्बन्ध जस्ता ९ बुँदे विस्तृत विवरण बुझाउनुपर्नेछ । एक्लै जित्न सक्ने अवस्था के छ रु भन्ने प्रश्नको उत्तरसमेत तल्लो कमिटीले केन्द्रलाई दिनुपर्नेछ ।
पार्टीले उम्मेदवार छनोट गर्दा शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्वपीडित, घाइते र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिन निर्देशन दिएको छ । संविधानले तोकेका दलित, जनजाति, मधेशी, थारू, मुस्लिम र अल्पसङ्ख्यक क्लस्टरलाई पूर्ण रूपमा पालना गर्न भनिएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि हुने यो निर्वाचनलाई नेकपाले आफ्नो साङ्गठनिक शक्ति प्रदर्शन र पार्टी एकताको जनअनुमोदन गर्ने अवसरका रूपमा लिएको छ देखिएको छ ।

FACEBOOK COMMENTS