काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रबन्धकमा टेकनाथ सिटौला नियुक्त भएका छन् ।
प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले आइतबार सिटौलालाई निमित्त प्रमुखको जिम्मेवारी तोकेका हुन् ।
यसअघि विमानस्थलको निमित्त महाप्रबन्धकको जिम्मेवारी रिञ्जी शेर्पाले सम्हाल्दै आएका थिए । उनको ठाउँमा सिटौलालाई ल्याइएको हो ।
अहिले प्राधिकरणमा महानिर्देशकसहित ३ जना उपमहानिर्देशक स्तरका कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बित आस्थामा छन् । बाह्रौँ तहमा रहेकामध्ये कर्णलाई केही दिनअघि मात्रै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए ।
कर्णलाई छाड्ने हो भने प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला अहिले कायमै छन् । यसमध्ये ठाकुर हवाई सेवा निर्देशनालय सम्हालिरहेका छन् भने निरौला पोखरा विमानस्थलमा छन् ।
सबैभन्दा धेरै व्यस्त हुने विमानस्थलको रूपमा रहेको उक्त एयरपोर्टमा उच्च तहका कर्मचारीलाई राख्नुपर्ने मतबिच कर्णले कनिष्ठलाई निमित्त दिएर पठाएका हुन् ।

FACEBOOK COMMENTS