काठमाडौँ । बंगलादेश क्रिकेट बोर्डले आइसीसी टी-२० विश्वकप खेल्न भारत नजाने निर्णय गरेको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसीसीआई) ले आइपिएलबाट बंगलादेशका खेलाडीलाई हटाउन निर्देशन दिएपछि बंगलादेशले यस्तो निर्णय गरेको हो । बिसिसीआईको निर्देशनपछि आइपिएल फ्रान्चाइजी कोलकाता नाइट राइडर्सले बंगलादेशी फास्ट बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएको थियो ।
बंगलादेश क्रिकेट बोर्डले अब यस विषयमा निर्णय गर्दै उनीहरूले आइसीसीलाई आफ्ना विश्वकपका खेलहरु श्रीलंकामा स्थानान्तरण गर्न अनुरोध गरेका छन् ।
बंगलादेशको बोर्डले भनेको छ, ‘बोर्डले विगत २४ घण्टाको विकासलाई ध्यानमा राख्दै परिस्थितिको विस्तृत समीक्षा गरेको छ र भारतमा खेलहरूमा बंगलादेश राष्ट्रिय टोलीको सहभागिता वरपरको समग्र परिस्थितिको बारेमा गहिरो चिन्ता व्यक्त गरेको छ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘यस निर्णयलाई ध्यानमा राख्दै, कार्यक्रम प्राधिकरणको रूपमा बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई बंगलादेशका सबै खेलहरू भारत बाहिर (सह-आयोजक श्रीलंका) फरक स्थानमा सार्ने विचार गर्न औपचारिक रूपमा अनुरोध गरेको छ ।’

यसअघि, बंगलादेशको अन्तरिम सरकारका खेलकुद मन्त्रीले बीसीबीलाई बंगलादेशका खेलहरू श्रीलंकामा आयोजना गर्न आईसीसीलाई अनुरोध गर्न निर्देशन दिएका थिए । बंगलादेशको खेलकुद मन्त्रालयले मुस्ताफिजुरको बहिष्कारले खेलाडीहरूको सुरक्षाको बारेमा चिन्ता बढाएको बताएको छ ।

बंगलादेशले आफ्नो चार लिग खेलहरू मध्ये तीन कोलकातामा र एक मुम्बईमा खेल्ने तालिका छ । बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग, फेब्रुअरी ९ मा इटालीसँग र फेब्रुअरी १४ मा इङ्गल्याण्डसँग कोलकातामा र फेब्रुअरी १७ मा नेपालसँग मुम्बईमा खेल्ने तालिका छ ।

सम्पूर्ण विवाद मुस्ताफिजुरलाई आइपीएलबाट बहिष्कार गरेपछि सुरु भएको थियो । कोलकोताले गत महिना मिनी अक्सनमा मुस्ताफिजुरलाई ९ करोड २० लाखमा किनेको थियो ।

बंगलादेश खेलकुद मन्त्रालयले बीसीबीलाई भारतको सट्टा श्रीलंकामा टी(२० विश्वकप खेलहरू आयोजना गर्न आग्रह गर्दा बीसीसीआईले खेलको ढाँचा परिवर्तन गर्न नसकिने प्रतिक्रिया दिएको छ । सबै विपक्षी खेलाडीको हवाई टिकट र होटलहरू बुक गरिसकिएको र हरेक दिन तीनवटा खेल रहेकाले अब खेल सार्न सम्भव नभएको बताएको छ ।
FACEBOOK COMMENTS