काठमाडौं । अर्क्श फुड र नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले नेपालका उत्कृष्ट टेबलटेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग गर्ने भएका छन् ।
विश्व वरियतामा ५२७औँ स्थानमा रहेका महर्जनलाई विश्वस्तरीय प्रतिस्पर्धामा पुग्न आवश्यक सहयोग उपलब्ध गराउँदै नेपालको खेल प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने यो पहल सुरू गरिएको हो ।
यो साझेदारीअन्तर्गत अर्क्श फुडले खेलाडी महर्जनको तालिम, यात्रा तथा प्रतियोगिता सहभागितामा आवश्यक सहयोग प्रदान गर्ने भएको छ । कम्पनीका प्रतिनिधिहरूले खेल क्षेत्रको विकास र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताएका छन् ।
राष्ट्रिय क्रिकेट टीमका अनुभवी खेलाडी सोमपाल कामीले खेलाडीहरूको करियर निर्माणमा यस्ता सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताए । ‘नेपालमा प्रतिभा धेरै छन्, तर अवसर र सहयोगको अभावले धेरै खेलाडी अघि बढ्न सकिरहेका छैनन्,’ उनले भने, ‘रुबिनजस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’
खेलाडी रुबिन महर्जनले यो सहयोगप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपालको नाम चम्काउने प्रतिबद्धता व्यक्त गरे । ‘यो समर्थनले मेरो आत्मविश्वास बढाएको छ । म देशको प्रतिनिधित्व गर्दै अझ राम्रो नतिजा ल्याउने प्रयास गर्नेछु,’ उनले भने ।

अर्क्श फुडले खेलकुद क्षेत्रमा दीर्घकालीन योगदान दिने योजनासहित युवा खेलाडीहरूलाई प्रोत्साहन गर्दै आएको छ । कम्पनीका अनुसार यो सहकार्य केवल एक खेलाडीको समर्थन मात्र नभई, नेपाली खेलकुदको समग्र विकासतर्फको महत्वपूर्ण कदम हो ।

यस पहलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर विस्तार गर्ने विश्वास गरिएको छ, जसबाट भविष्यमा नेपालका अन्य खेलाडीहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

FACEBOOK COMMENTS