काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एसएओ) को पछिल्लो प्रतिवेदन अनुसार, विश्वव्यापी खाद्यान्नको मूल्य लगातार पाँचौं महिनामा घटेको छ ।
दूध, चिनी र मासु जस्ता आवश्यक उत्पादनहरूको मूल्य अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको हो, यद्यपि चामल र वनस्पति तेलको बढ्दो मूल्य चिन्ताको विषय बनेको छ ।
विश्वव्यापी रूपमा व्यापार हुने प्रमुख खाद्य उत्पादनहरूको मासिक मूल्य परिवर्तनलाई प्रतिबिम्बित गर्ने एफएओ खाद्य मूल्य सूचकांक जनवरी २०२६ मा औसत १२३.९ अंक थियो । यो डिसेम्बर २०२५ को तुलनामा ०.४ प्रतिशत कम र गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशत कम हो । प्रतिवेदनका अनुसार, विश्वव्यापी बजारमा समग्र राहतको संकेत देखिए पनि, केही आवश्यक वस्तुहरूमा मुद्रास्फीतिले आगामी महिनाहरूमा चुनौती खडा गर्न सक्ने उल्लेख गरिएको छ ।
डिसेम्बर २०२५ को तुलनामा जनवरीमा अन्नको मूल्य ०.२ प्रतिशतले बढेको छ, अन्नको मूल्य सूचकांक औसत १०७.५ अंक रहेको छ । यस अवधिमा गहुँ र मकैको विश्वव्यापी मूल्यमा पनि थोरै गिरावट आएको छ ।
एफएओका अनुसार, पर्याप्त विश्वव्यापी गहुँको भण्डारले रूस र संयुक्त राज्य अमेरिकामा मौसमसँग सम्बन्धित चिन्ताको प्रभावलाई सीमित गरेको छ । अर्जेन्टिना र अष्ट्रेलियामा राम्रो उत्पादनको अपेक्षा र उच्च विश्वव्यापी भण्डारले पनि मूल्य नियन्त्रणमा राख्न मद्दत गरेको बताइएको छ । यसको विपरीत, जनवरीमा चामलको मूल्य १.८ प्रतिशतले बढेको छ ।

एफओको तथ्याङ्क अनुसार, जनवरी २०२६ मा चिनीको मूल्य सूचकाङ्क १ प्रतिशतले घटेको छ । डिसेम्बर २०२५ मा ९०.७ रहेको यो सूचकाङ्क जनवरीमा ८९.८ मा झर्यो । यसको पछाडिको मुख्य कारण भारतमा उत्पादनमा भएको वृद्धि, थाइल्याण्डबाट आएको सकारात्मक संकेत र ब्राजिलमा राम्रो उत्पादन अनुमानका कारण विश्वव्यापी आपूर्तिमा वृद्धि हुने अपेक्षा मानिएको छ ।

FACEBOOK COMMENTS