काठमाडौँ । चेक बाउन्ससम्बन्धी मुद्दामा तिहाड जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले अन्तरिम जमानत दिएको छ । अदालतले यादवलाई आगामी १८ मार्चसम्मका लागि जमानतमा रिहा गर्ने आदेश दिएको हो ।
जमानत याचिकामाथि सुनुवाइ गर्दै अदालतले प्रतिवादी कम्पनीको नाममा १ करोड ५० लाख जम्मा गर्न दिउँसो ३ बजेसम्मको समय दिएको थियो। यादवले तोकिएको रकम डिमान्ड ड्राफ्टमार्फत बुझाएपछि न्यायमूर्ति स्वर्णकान्ता शर्माको इजलासले उनलाई अन्तरिम जमानत प्रदान गरेको हो ।
अदालतमा उनका वकिलले १ करोड ५० लाख बिना शर्त फिक्स्ड डिपोजिट र डिमान्ड ड्राफ्टमार्फत बुझाउन तयार रहेको बताएका थिए । यसअघि २५ लाख र ७५ लाख रुपैयाँका डिमान्ड ड्राफ्ट प्रतिवादीको नाममा बुझाइसकिएको जानकारी पनि अदालतलाई दिइएको थियो ।
सुनुवाइका क्रममा यादवकी भतिजीको विवाह १९ फेब्रुअरीमा रहेको उल्लेख गर्दै पारिवारिक कारणले जमानत दिन आग्रह गरिएको थियो । अदालतले सोही आधारमा १८ मार्चसम्म उनलाई जेलबाहिर बस्न अनुमति दिएको हो । अब यस मुद्दाको अर्को सुनुवाइ १८ मार्चमा हुनेछ । त्यसबेलासम्म यादव जमानतमा रिहा रहनेछन् ।
FACEBOOK COMMENTS