काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक सह-अध्यक्षता गर्न पोर्चुगल प्रस्थान गर्दैछन् । उक्त बैठक फेब्रुअरी २०, २०२६ मा लिस्बनमा आयोजना हुने कार्यक्रम छ ।
राईको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू, पोर्चुगलका लागि नेपाली राजदूत तथा दूतावासका अन्य अधिकारीहरू सहभागी रहनेछन् । उनी मंगलबार त्यसतर्फ जाने मन्त्रालयले जानकारी दिएको छ ।
बैठकमा नेपाल-पोर्चुगलबीचको समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिनुका साथै साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।
लिस्बन भ्रमणका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने, नवस्थापित नेपाली दूतावासको औपचारिक उद्घाटन गर्ने तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । हाल पोर्चुगलमा करिब ४० हजारभन्दा बढी नेपाली विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको अनुमान गरिएको छ ।
नेपाल र पोर्चुगलबीच द्विपक्षीय परामर्श संयन्त्र सन् २०१८ मा स्थापना गरिएको थियो। परराष्ट्र सचिव राई फेब्रुअरी २२, २०२६ मा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।


FACEBOOK COMMENTS