काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन व्यापक नीतिगत र संरचनागत सुधारको योजना अघि सारेको छ ।
आगामी २१ गते हुने आम निर्वाचनका लागि आज जारी गरिएको ‘बाचापत्र’मा रास्वपाले बजारलाई आधुनिक बनाउँदै अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नियामक निकाय र कारोबार प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्य उल्लेख गरेको हो ।
योजना अनुसार धितोपत्र ऐन, २०६३ मा संशोधन गरी धितोपत्र बोर्ड (सेबोन) को संरचना पुनर्गठन गर्ने, बोर्डलाई स्वायत्त बनाउँदै यसको कार्यक्षमता अभिवृद्धि गर्ने, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा निजी क्षेत्रको शेयर सहभागिता बढाउँदै प्रतिस्पर्धात्मक डिपोजिटरी सेवाको विकास गर्नेलगायत योजना बाचापत्रमा उल्लेख छ ।
यसैगरी, बजारमा तरलता र पारदर्शिता बढाउन इन्ट्राडे कारोबार, सर्ट सेलिङ, फ्युचर्स र अप्सन जस्ता डेरिभेटिभ उपकरणहरू चरणबद्ध रूपमा सुरु गरिने, इनसाइडर ट्रेडिङ र बजार हेरफेर गर्नेहरूविरुद्ध ‘शून्य सहनशीलता’ को नीति लिइने, आईपीओ प्रणालीमा सुधार गरी निष्पक्ष बाँडफाँड र समयमै सूचीकरणको व्यवस्था मिलाइने योजनामा पनि सो पत्रमा समेटिएका छन् ।
यस्तो छ, पुँजी बजारबारे प्रतिवद्धता–

– पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौँ । धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्दै पर्याप्त जनशक्ति, कार्यक्षमता अभिवृद्धि तथा आवश्यक स्वायत्तता दिनेछौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पुन:संरचना गरी निजी क्षेत्रको सेयर सहभागिता बढाउनेछौं र प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्नेछौं । पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउनेछौं । इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्नेछौँ । आइपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउनेछौं ।

– संस्थागत लगानीकर्ताको विस्तार गर्न पेन्सन फन्ड, बीमा, म्युचुअल फन्ड, आदि संस्थाहरूलाई सक्रिय लगानी गर्न प्रोत्साहन र सहजीकरण गर्नेछौं । पूँजी बजार कर नीति स्थिर र लगानीमैत्री हुनेछन् भने ऋण बजार र बन्ड बजारको विकास गर्न सरकारी, स्थानीय तह तथा निजी क्षेत्रका बन्डलाई सक्रिय बनाइ पूर्वाधार विकासका लागि इन्फ्रास्ट्रक्चर बन्ड तथा दीर्घकालीन परियोजनामा पुँजी जुटाउने वैकल्पिक साधनको विकास गर्नेछौं । वर्षौंदेखि रोकिएको गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति तर्जुमा गर्नेछौं । वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याउनेछौं र त्यसका लागि पब्लिक वेयरहाउजिङ ऐन जारी गर्नेछौं । विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकास गरी पुँजीबजारलाई आधुनिक र विविधीकृत बनाउनेछौं । साना लगानीकर्ताहरूको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता र सुशासन सुनिश्चित गर्न ‘स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गर्नेछौं । पुँजी बजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुरÞ्याउँदै यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पुँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गर्नेछौं ।

FACEBOOK COMMENTS