काठमाडौँ । पाकिस्तान र अफगानिस्तानबीचको सीमाक्षेत्रमा तनाव पुन: बढेको छ ।
पाकिस्तानले अफगानिस्तानको भूभागमा हवाई आक्रमण गरेको दाबी गरिएको छ, जसमा बालबालिकासहित ११ जनाको ज्यान गएको बताइएको छ । घटनापछि काबुलले कडा प्रतिक्रिया जनाउँदै उचित समयमा सहि जवाफ दिने चेतावनी दिएको छ ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इस्लामाबादस्थित एक शिया मस्जिद, बाजौर र बन्नूमा भएका आतंकी आक्रमणमा अफगानिस्तानमा रहेका समूहहरूको संलग्नता रहेको ठोस प्रमाण भेटिएको दाबी गरिएको छ । ती आक्रमणको जिम्मेवारी अफगानिस्तानमा सक्रिय तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट अफ खुरासान प्रोविन्स (आईएसकेपी) ले लिएको मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिमा पाकिस्तानले अफगान तालिबान सरकारलाई आफ्नो भूमिबाट पाकिस्तानविरुद्ध आतंकी गतिविधि हुन नदिन बारम्बार आग्रह गरेको तर त्यसतर्फ ठोस कदम नचालिएको आरोप लगाइएको छ । सोही पृष्ठभूमिमा प्राप्त गोप्य सूचनाका आधारमा आतंकी ठेगानालाई लक्षित गरी कारबाही गरिएको पाकिस्तानको दाबी छ ।
उता, अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी आक्रमणको कडा निन्दा गर्दै पक्तिका र नंगरहार प्रान्तमा गरिएको आक्रमणको जवाफ दिइने चेतावनी दिएको छ । मन्त्रालयले भनेको छ– ’हामी चुप लागेर बस्ने छैनौं, समय आएपछि यस्तो जवाफ दिनेछौं कि सम्झिरहनेछन् ।’ सीमाको सुरक्षा र नागरिकको संरक्षण राष्ट्रिय कर्तव्य भएको पनि अफगान पक्षले जनाएको छ ।

अफगानिस्तानले उक्त आक्रमणलाई आफ्नो सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन भएको दाबी गर्दै सर्वसाधारण र धार्मिक स्थल लक्षित भएको आरोप लगाएको छ । साथै, यस घटनालाई पाकिस्तानको आफ्नै सुरक्षा तथा गुप्तचर संयन्त्रको असफलताको परिणाम भएको टिप्पणीसमेत गरेको छ ।

दुई देशबीच पछिल्ला वर्षहरूमा सीमाक्षेत्रमा बारम्बार तनाव उत्पन्न हुँदै आएको छ । पछिल्लो घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने संकेत दिएको छ ।

FACEBOOK COMMENTS