दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ ।
राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् ।
रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा कमाएको तनहुँ १ मा स्वर्णिम लगायत अन्य उम्मेदवारलाई ढकालले चुनौती दिएका छन् । भुगोललाई नजिकबाट चिनेका र बुझेका ढकालले जनताको लोकप्रिय उम्मेदवारको पहिचान स्थापित गरेका छन् ।
करिब तीन दशक शिक्षण पेशामा बिताएर ‘प्रधानाध्यापक’को सामाजिक छवि बनाएका ढकाल स्थानीय स्तरमा ‘विद्या सर’का नामले परिचित छन् । उमेरले ६० नाघे पनि युवा जोश र परिपक्व व्यवहार उनको विशेषता हो । ढकाल भानु नगरपालिका–४ चुँदीका स्थायी बासिन्दा हुन् ।
सहरमा आलिशान महल र विलासी जीवनको मोह त्यागेर आज पनि बुबाले बनाएको पुरानै ग्रामीण घरमा बस्ने उनको सादगीपनले मतदाताको मन जितिरहेको छ । मतदानासँग मत माग्ने क्रममा उनले भन्छन्, ‘म यहीँको माटो र जनतासँग भिजेको मान्छे हुँ । मलाई भोट माग्न गाउँ आउँदा अरूलाई जस्तो ‘म यति पटक गाउँ आएँ’ भनेर स्पष्टीकरण दिइरहनु पर्दैन ।’ढकाल केवल राजनीतिकर्मी मात्र नभई तनहुँको विकासका खाका कोर्ने ‘स्वप्नद्रष्टा’ पनि हुन् ।

मादी–मस्र्याङ्दी मोटर मार्ग उनको अवधारणा हो । दमौली–कलेस्ती हुँदै बाइसजाँगर जोड्ने यो रणनीतिक सडकको अवधारणा ल्याउने मुख्य सुत्राधार ढकाल नै हुन् ।
पर्यटन र वातावरणमा उनले चासो दिन्छन् । छिम्केश्वरीमा राष्ट्रिय निकुञ्ज निर्माण, मिर्लुङकोटमा खुला चिडियाखाना र तनहुँसुरको ऐतिहासिकता जोगाउन उनले वर्षौँदेखि पैरवी गर्दै आएका छन् ।

जलाधार विकासमा उनले निरन्तर आवाज उठाउँदै आइरहेका छन् । वृहत मस्र्याङ्दी जलाधार क्षेत्र विकास सरोकार समितिको संयोजक बनेर उनले यस क्षेत्रको पानी र प्राकृतिक स्रोतको सदुपयोगका लागि ठोस योगदान दिइसकेका छन् ।

परिवार र समाजका लागि उदाहरणीय व्यक्तित्वको पहिचान पनि उनीसँग छ । राजनीतिलाई व्यक्तिगत लाभको पद ठान्ने वर्तमान प्रवृत्ति विपरित ढकालले इमानको राजनीति गरिरहेका छन् ।

उनका छोरीहरू उच्च शिक्षा हासिल गरी नेपालमै विभिन्न क्षेत्रमा कार्यरत छन् । आफ्ना सन्तानलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै सेवा गर्न प्रेरित गर्ने उनको पारिवारिक पृष्ठभूमिले ‘स्वदेशमै रोजगारी’ को नारालाई सार्थक बनाएको देखिन्छ ।
मतदाताको आशा: निष्ठाको राजनीति
५० वर्ष लामो राजनीतिक यात्रामा पटक–पटक जेल र हिरासत भोग्दा पनि विचलित नभएका ढकाल हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।
स्थापित प्रगतिशील साहित्यकार (आमा लघुकथा संग्रहका लेखक) समेत रहेका उनले सुशासन र सभ्य समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
स्थानीय मतदाताहरू भन्छन्, ‘ठुला दलका हेभिवेट नेताहरूले आश्वासन मात्र दिए, तर हाम्रा दु:ख–सुखमा साथ दिने र यहाँको भूगोल बुझ्ने त विद्या सर नै हुन् ।’
चुपचाप मत बटुल्दै अगाडि बढेका ढकालको उपस्थितिले यसपटक तनहुँ–१ को चुनावी नतिजा सोचेभन्दा फरक आउन सक्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।
FACEBOOK COMMENTS