काठमाडौं । देशभर शाखा सञ्जाल फैलाएर करिब २० लाख ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनलले विदेशस्थिति प्रतिनिधि बैंक (कोरेस्पोन्डेन्ट बैंक) हरूमार्फत अन्तर्राष्ट्रिय सेवा पनि प्रदान गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय भुक्तानी, रेमिट्यान्स तथा व्यापार वित्त (ट्रेड फाइनान्स) सेवालाई सुदृढ बनाउन सिटिजन्स बैंकले विभिन्न देशका स्थापित बैंकहरूसँग प्रतिनिधि बैंकिङ सहकार्य विस्तार गरेको हो । बैंकका अनुसार अस्ट्रेलिया, बंगलादेश, चीन, जर्मनी, भारत, जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बेलायत र अमेरिकामा रहेका बैंकमार्फत विदेशी मुद्रा सेटलमेन्ट, एलसी/टीटी भुक्तानी, निर्यात–आयात कारोबार र डलर क्लियरिङ सेवा सञ्चालन हुँदै आएको छ ।
बैंकले अस्ट्रेलियामा स्टेट बैंक अफ इन्डिया (सिड्नी), बंगलादेशमा स्ट्यान्डर्ड चार्टर्ड बैंक (ढाका), चीनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक (साङ्घाइ) र जर्मनीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक (फ्रान्कफर्ट) मार्फत उल्लेखित सुविधाहरू प्रदान गर्दै आएको छ । सिटिजन्स बैंकले छिमेकी देश भारतमा पाँचवटा बैंकसँग प्रतिनिधि बैंकको सहकार्य गरेको छ । जस अनुसार दोहा बैंक (भारत), एक्सिस बैंक (सिलिगुडी), एचडीएफसी बैंक (मुम्बई), स्ट्यान्डर्ड चार्टर्ड बैंक (मुम्बई) तथा आईसीआईसीआई बैंक (मुम्बई) प्रतिनिधि रहेका छन् ।
यसैगरी, जापानमा स्ट्यान्डर्ड चार्टर्ड (टोकियो), दक्षिण कोरियामा केबी कोक्मिन बैंक (सिओल), यूएईमा मार्सेक बैंक (दुबई), बेलायतमा स्ट्यान्डर्ड चार्टर्ड (लण्डन) र अमेरिकामा मार्सेक बैंक तथा स्ट्यान्डर्ड चार्टर्ड (न्यूयोर्क) सँग सहकार्य रहेको बैंकले जनाएको छ । यी बैंकमार्फत सम्बन्धित देशको मुद्रा एयूडी, यूएसडी, सीएनवाई, युरो, भारु, जेपीवाई, एईडी, जीबीपी लगायतमा सेटलमेन्ट सम्भव हुने बैंकको भनाइ छ ।
कसरी हुन्छ सहकार्य ?

प्रतिनिधि बैंकिङ व्यवस्थामा सिटिजन्स बैंकले विदेशमा आफ्नै शाखा नहुँदा सम्बन्धित देशका साझेदार बैंकमा विशेष खाता सञ्चालन गर्छ । त्यही खातामार्फत आयातकर्ताका एलसी खोल्ने/समर्थन गर्ने, निर्यातकर्ताको भुक्तानी सङ्कलन गर्ने, रेमिट्यान्स र टीटी (टेलिग्राफिक ट्रान्सफर) सेटलमेन्ट गर्ने तथा विदेशी मुद्रा क्लियरिङ तथा डलर सेटलमेन्ट गर्नेलगायत कार्य गर्ने गरिन्छ । यस्तो प्रबन्धले अन्तर्राष्ट्रिय कारोबारलाई नियामकीय मापदण्डअनुसार सुरक्षित र वैधानिक बनाएको बैंकको भनाइ छ ।

ग्राहकले के–कस्ता सुविधा पाउँछन् ?

यस्तो व्यवस्थाबाट निर्यात–आयात व्यवसायीले एलसी, डकुमेन्ट कलेक्शन, बैंक ग्यारेन्टी र छिटोछरिछतो सेटलमेन्ट गर्न पाउँछन् । विदेशमा अध्ययन/बसोबास गर्ने व्यक्तिहरूले ट्युशन फी, बसोबास खर्च आदिको वैधानिक भुक्तानी गर्न पाउँछन् । रेमिट्यान्स पठाउने र पाउनेले सम्बन्धित देशबाट डलर/स्थानीय मुद्रामा छिटो ट्रान्सफर गर्ने सुविधा पाउँछन् । र, यदि कर्पोरेट ग्राहक हो भने उसले ‘मल्टी करेन्सी’ कारोबार र जोखिम व्यवस्थापनमा सहजता प्राप्त गर्दछ ।

प्रतिनिधि बैंकहरूको यो सञ्जालले सिटिजन्स बैंकमार्फत हुने विदेशी कारोबारलाई थप सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने विश्वास बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले हाल देशभरका ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा कार्यालय, १६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाइबाट कूल १९ लाख ५६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS