काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था) लाई निर्देशन दिएको छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए । बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न ÷ नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए ।
“केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उनले भने, “त्यसैले हामीले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ ।”
उनका अनुसार अस्पतालले बीमितसँग बिमा सेवका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री सोही अस्पताल तथा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन् । सूचना अधिकारी मल्लले बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न लगाउने अस्पताललाई स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको भन्दै त्यस्ता अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५को नियम १८ को उपनियम ९१० को खण्ड ९क० बमोजिम कारबाही गरिनेसमेत बताए ।
स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि तीन हजार ५०० बराबरको योगदानको आधारमा एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

FACEBOOK COMMENTS