काठमाडौँ । इजरायलले इरानमाथि आफ्ना आक्रमण अझ तीव्र बनाउने चेतावनी दिएको छ।
इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानबाट भइरहेका क्षेप्यास्त्र आक्रमणको जवाफमा अब अझ ठूलो कारबाही गरिने बताएका छन् । नागरिक क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिइए पनि इरानले आक्रमण जारी राखेकाले अब आक्रमणको दायरा विस्तार गरिने उनको भनाइ छ।
उनका अनुसार इरानको हतियार निर्माण र सैन्य गतिविधिमा सहयोग गर्ने थप स्थानहरूलाई पनि निशाना बनाइनेछ। साथै, इजरायलले इरानी सैन्य नेतृत्व र कमाण्डरहरूलाई निरन्तर लक्ष्य बनाइरहने र रणनीतिक क्षमता कमजोर पार्ने जनाएको छ। इजरायलले करिब चार सातादेखि इरानमाथि लगातार आक्रमण गर्दै आएको र हालै एक वरिष्ठ कमाण्डर मारिएको दाबी पनि गरेको छ।
यता, इरानले होर्मुज जलडमरु क्षेत्रमा तीन जहाजलाई फर्काएको जनाएको छ। उक्त समुद्री मार्ग हालका लागि बन्द गरिएको र आवागमनमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । इरानी क्रान्तिकारी गार्डको नौसेनाले विभिन्न देशका तीन जहाजलाई प्रवेश गर्न नदिई फर्काएको बताइएको छ ।

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १० तेल ट्यांकरलाई होर्मुजबाट जान दिइएको भन्ने दाबी अस्वीकार गर्दै अमेरिका र इजरायलसँग सम्बन्धित देशका बन्दरगाहबाट आउने-जाने जहाजमा पूर्ण रोक लगाइएको स्पष्ट पारेको छ ।

यसैबीच, इरानले इजरायलमाथि ८३औँ पटक क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ । यस पटक प्रहार गरिएका क्षेप्यास्त्रमा विभिन्न देशप्रति आभार व्यक्त गर्दै सन्देश लेखिएको बताइएको छ ।

इरानी पक्षका अनुसार यस आक्रमणमा लामो तथा मध्यम दूरीका क्षेप्यास्त्र र मानवरहित विमान प्रयोग गरिएको छ । आक्रमणमा इजरायली ठेगानासँगै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य ठेगानालाई पनि निशाना बनाइएको दाबी गरिएको छ ।
FACEBOOK COMMENTS