काठमाडौँ । जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता (पीएम कप) मा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश फाइनल खेल्ने भएका छन् ।
प्रत्येक टिमले ९-९ वटा खेल खेल्ने तालिका रहेकोमा मंगलबार र बुधबार हुने खेल अघि फाइनल खेल्ने दुई टिमको टुंगो लागेको हो ।
९ खेलमध्ये ८ वटा खेल खेलेको त्रिभुवन आर्मी १५ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा छ । आर्मीले अन्तिम खेल लुम्बिनी प्रदेशसँग बुधबार खेल्ने तालिका रहेको छ ।
यस्तै, दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले ९ खेलमा ६ जित र ३ हारसहित १२ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, ९ खेल खेलेकोमा ११ अंक सहित एफिएफ क्लब तेस्रो स्थानमा छ । एफिएफको ५ खेलमा जित, ३ खेलमा हार र एउटा खेल वर्षाको कारण रद्द भएको थियो । एपीएफ शिर्ष ६ मा पर्ने निश्चित भएको छ र जयट्रफीका लागि छनौट भएको छ ।
अब शिर्ष ६ मा पर्न नेपाल पुलिस क्लब, मधेश प्रदेस, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको प्रतिष्पर्धा रहेको छ ।

पुलिस क्लब र मधेश प्रदेश ९-९ अंकसहित चौथो र पाँचौं स्थानमा छन् भने अब दुवैले एक-एक खेल खेल्न बाँकी रहेको छ । त्यस्तै बागमती प्रदेशले पनि एक खेल खेल्न बाँकी हुदा ८ अंकसहित छैटौं स्थानमा रहेको छ ।

त्यस्तै २ खेल खेल्न बाँकी रहेको लुम्बिनी ७ अंकसहित सातौं स्थानमा रहेको छ भने एक खेल्न बाँकी रहेको गण्डकी प्रदेशको ७ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ ।त्यसैगरी कर्णाली प्रदेश र कोशी प्रदेश जय ट्रफीमा छनौट हुने दौडबाट बाहिर भएका छन् ।

बुधबार लिग चरणका खेल सकिएसँगै शुक्रबार पीएम कपको फाइनल खेल हुने छ ।
जय ट्रफीमा ६ टिमले खेल्ने:
जय ट्रफी मेन्स इलिट कपमा आगामी संस्करणमा ६ टिमले खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी संस्करणबाट जय ट्रफीको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।
यसअघि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टिमले जय ट्रफी खेल्ने गर्थे भने अब प्रधानमन्त्री कपको शीर्ष ६ टिमले जय ट्रफीमा सहभागिता जनाउने छन् । नेपाल क्रिकेट संघको आयोजनामा हुने बहुदिवसीय एक मात्र क्रिकेट प्रतियोगिताको दायरा बढाइ प्रदेश क्रिकेट टिमलाई पनि सक्दो समेट्ने प्रयास गरिएको हो ।
जय ट्रफीको लिग चरणको खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय हुँदै आएको छ । नेपाललाई लामो फर्म्याट क्रिकेटमा अभ्यस्त बनाउने जय ट्रफी एक मात्र प्रतियोगिता हो ।