कञ्चनपुर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले सुदूरपश्चिम प्रदेशलाई पर्यटन, कृषि र उद्योगका क्षेत्रमा अपार सम्भावना बोकेको क्षेत्रका रूपमा चित्रित गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भारतसँग खुला सीमा र भारतीय सहरहरूसँगको नजिकको पहुँचले सुदूरपश्चिमलाई भारतीय पर्यटक आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने बताएका हुन् ।
उनले खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, अपी हिमाल तथा रामारोशन जस्ता प्राकृतिक तथा रमणीय गन्तव्यहरूले प्रदेशलाई विशिष्ट बनाएको उल्लेख गरे । ‘उचित लगानी र प्रभावकारी प्रवर्द्धन गर्न सके सुदूरपश्चिम देशकै प्रमुख पर्यटकीय केन्द्र बन्न सक्छ,’ अध्यक्ष ढकालले भने ।
सो अवसरमा उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रप्रति सकारात्मक र सहयोगी नीति आवश्यक रहेकोमा जोड दिए । लगानी विस्तार, रोजगारी सिर्जना र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनले राज्यले अनुकूल वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।
एफएनसीसीआई सुदूरपश्चिम प्रदेशको सम्भावनालाई उजागर गर्दै दिगो तथा समावेशी विकासका लागि सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उनले स्पष्ट गरेका छन् ।
