काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन् । अमेरिकासँग युद्धविरामको अवस्थामा भएको अराघचीको यो चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अरघचीले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगभेटवार्ता गरेका छन् । वार्तामा द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विकासमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।
यस भ्रमणको उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी परिस्थितिमा भएका विकासक्रमबारे छलफल गर्नु रहेको बताइएको छ । अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेपछि इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो । चीन इरानको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक साझेदार र इरानी तेलको प्रमुख खरिदकर्ता हो । इरानमाथि अमेरिकी प्रतिबन्धका बाबजुद पनि यसले इरानी तेल खरिद गर्न जारी राखेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १४ र १५ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न चीनको भ्रमण गर्ने कार्यक्रम भएकोले अराघचीको भ्रमण महत्वपूर्ण समयमा आएको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई हर्मुजको जलडमरूममाथिको नियन्त्रण त्याग्न इरानलाई बाध्य पार्न अराघचीलाई दबाब दिन आग्रह गरेका छन् ।
