काठमाडौं । गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा पुन: आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् ।
पुँजी बजार र बीमासम्बन्धी कसूरको अनुसन्धानका क्रममा पक्राउ परेका उनी केही दिनअघि रिहा भएका थिए । रिहा भएपछि केही दिन विश्राम गरेर उनी पुन: नियमित काममा फर्किएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका गोल्छाले ‘अब काममा फर्किएँ’ भन्दै फेसबुकमार्फत जानकारी दिएका हुन् । उनले एउटा तस्बिरका साथमा लेखेका छन्, ‘नाउ ब्या टू वर्क अर्थात् अब काममा फर्किएँ ।’
सार्वजनिक गरिएको तस्बिरमा उनी एक कार्यक्रममा सम्बोधन गरिरहेको अवस्थामा देखिन्छन् । छोटो अभिव्यक्तिमार्फत उनले व्यावसायिक तथा सार्वजनिक गतिविधिमा पुन: सक्रिय भएको सन्देश दिएका छन् ।
पुँजी बजार र बीमासम्बन्धी कसूरसँग जोडिएका केही गम्भीर आरोपहरूमा अनुसन्धान गर्न राज्यका निकायहरूले उनलाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा अन्य केही ठूला उद्योगीहरू पनि अनुसन्धानको घेरामा परेका थिए, केही अझै थुनामै छन् । आवश्यक कानुनी प्रक्रिया पूरा गरी रिहा भएका उनले आफ्नो व्यावसायिक यात्रालाई पुन: निरन्तरता दिन लागेका हुन् ।

मुलुकको प्रतिष्ठित व्यावसायिक घरानाका व्यक्तिको पक्राउ र रिहाइले निजी क्षेत्रमा निकै चर्चा पाएको थियो । उनी काममा फर्किएको जानकारी सार्वजनिक भएसँगै उद्योगी–व्यवसायीहरूले यसलाई सकारात्मक रूपमा लिँदै सामाजिक सञ्जालमा शुभकामना व्यक्त गरिरहेका छन् ।

धरपकड र अनुसन्धानको मनोवैज्ञानिक दबाबका बीच पनि गोल्छाले ‘काममै फर्किएको’ सन्देश दिनुलाई व्यावसायिक वृत्तमा आत्मविश्वासको रूपमा हेरिएको छ । उनको रिहाई र कार्यक्षेत्रमा फिर्तीले निजी क्षेत्रको खस्किएको मनोबलमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।