काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवको जलविद्युत् आयोजना बुढीगण्डकीलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताएकी छिन् ।
सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव पेस गर्दै उनले विद्युत् उत्पादनमा सरकारको लक्ष्य पूरा गर्न पनि बुढीगण्डकी जलविद्युत् आयोजनालाई अघि बढाउनुपर्ने बताएकी हुन् ।
३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको सरकारले १२ सय मेगावाट क्षमताको महत्वपूर्ण जलविद्युत् आयोजनालाई नीति तथा कार्यक्रममा नराख्नु गम्भीर भएको उनको भनाइ छ । बुढीगण्डकी मात्र नभइ अन्य अधुरा आयोजनाहरूलाई समेत उचित सम्बोधन गर्नुपर्नेमा सांसद श्रेष्ठको जोड छ ।
‘सम्माननीय सभामुखज्यू (डोल प्रसाद अर्याल–डीपी) ले धादिङ जाँदा तुरुन्त सुरू हुन्छ भनेर आश्वासन दिनुभएको थियो, तर यो नीति तथा कार्यक्रममा आएको छैन,’ सांसद श्रेष्ठले संसदमा भनिन्, ‘यो आयोजनाबाट १२ सय मेगावाट विद्युत् उत्पादन हुन्छ । वार्षिक तीन अर्ब ३८ करोड युनिट विजुली उत्पादन हुन्छ । जसबाट ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुन्छ । तुरुन्त अगाडि बढाउनुपर्छ ।’
यो आयोजनामा तीन अर्ब ७४ करोड लागत लाग्ने र ४५ अर्ब मुआब्जा वितरण गरिसकिएको जानकारी उनले दिएकी छिन् ।
