काठमाडौँ । पाकिस्तानले बङ्गलादेशसँगको पहिलो टेस्टमा स्लो ओभर रेटका कारण वल्र्ड टेस्ट च्याम्पियनसिपमा आठ अंक गुमाएको छ ।
ढाकामा भएको उक्त खेलमा पाकिस्तान आठ ओभर लक्ष्यभन्दा पछाडि परेको पाइएको थियो । खेलमा पाकिस्तान १०४ रनले पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदको आचारसंहिताको धारा २.२२ अनुसार पाकिस्तानमाथि कारबाही गरिएको हो । यसअनुसार प्रत्येक ओभर ढिलो भएबापत टोलीलाई एक अंक काटिन्छ र खेलाडीलाई प्रत्येक ओभरका लागि पाँच प्रतिशत म्याच शुल्क जरिवाना लाग्छ ।
अंक कटौतीपछि पाकिस्तान वल्र्ड टेस्ट च्याम्पियनसिपको अंकतालिकामा एक स्थान तल झरेर आठौँ स्थानमा पुगेको छ । उसको कुल चार अंक रहेको छ । समान चार अंक भए पनि वेस्ट इन्डिज नवौँ स्थानमा छ, जसको अंक प्रतिशत ४.१७ मात्र रहेको छ भने पाकिस्तानको ११.११ प्रतिशत छ ।
यस नतिजापछि इंग्ल्यान्ड एक स्थान माथि उक्लिएको छ । तर ढाकामा बङ्गलादेशको जितसँगै उसले इंग्ल्यान्डलाई उछिन्दै छैटौँ स्थान हासिल गरेको छ ।

यो च्याम्पियनसिप चक्रमा स्लो ओभर रेटका कारण अंक काटिएको पाकिस्तान दोस्रो टोली हो । यसअघि जुलाईमा लड्र्समा भारतसँगको टेस्टपछि इंग्ल्यान्डको दुई अंक काटिएको थियो । त्यसपछि इंग्ल्यान्डको अंक २४ बाट २२ मा झरेको थियो र अंक प्रतिशत ६६.६७ बाट ६१.११ मा घट्दै तेस्रो स्थानबाट चौथो स्थानमा झरेको थियो ।

हाल वल्र्ड टेस्ट च्याम्पियनसिपको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ । उसले आठ खेलमध्ये सात जित निकाल्दै ८७.५० प्रतिशत अंक हासिल गरेको छ । दोस्रो स्थानमा न्युजील्यान्ड छ, जसको ७७.७८ प्रतिशत अंक छ । तेस्रो स्थानमा दक्षिण अफ्रिका ७५.०० प्रतिशत, चौथोमा श्रीलङ्का ६६.६७ प्रतिशत र पाँचौँमा भारत ४८.१५ प्रतिशत अंकसहित छन् ।