काठमाडौ । महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव दिएको छ ।
आन्तरिक उत्पादन, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अवलम्बन गर्नुपर्ने कार्यालयको सुझाव छ ।
कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार वैश्विक आर्थिक अस्थिरता, प्राकृतिक विपद् तथा बाह्य जोखिमका सम्भावित प्रभावलाई ध्यानमा राखी आर्थिक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने दबाव न्यूनीकरण गर्न पूर्वतयारी र जोखिम व्यवस्थापन प्रणाली सदृढ गर्नुपर्ने सुझाव छ ।
यस्तै, नगदमा आधारित आर्थिक गतिविधिलाई क्रमश: न्यूनीकरण गर्दै ‘डिजिटल’ भुक्तानी प्रणाली विस्तार गरी औपचारिक अर्थतन्त्रको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि डिजिटल सार्वजनिक पूर्वाधार निर्माण तथा विकासमा जोड दिँदै सबै प्रकारका कारोबारमा बिल बीजक लिने दिने व्यवस्था लागू गर्नुपर्ने सुझाव दिइएको छ ।
यसैगरी पर्यटन क्षेत्रबाट वैदेशिक लगानी र मुद्रा आर्जनमा वृद्धि गर्न पूर्वाधार विकास, सेवाको गुणस्तर सुधार, गन्तव्य पहिचान एवम् विविधकरण र निजी लगानी प्रोत्साहन गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ ।
