काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न समसामयिक तथा नीतिगत विषयमा काम गर्ने गरी १२ वटा उपसमिति गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको प्रतिष्ठानको बैठकले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधारलगायतका क्षेत्रमा अध्ययन, संवाद र अभियान सञ्चालन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा आइतबार बिहान ११:३० बजेदेखि अपराह्न ५:३० बजेसम्म बसेको बैठकले विभिन्न विषयगत उपसमितिको संयोजकसमेत तोकेको जनाएको छ ।
बैठकअनुसार भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजकमा डा. गोपाल दहित, विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिमा मोहना अन्सारी तथा सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा इन्जिनियर दीपेश विष्टलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, निर्वाचन प्रणाली सुधार उपसमितिको संयोजकमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा इन्जिनियर अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य तथा शिक्षा र शिक्षालय नीति एवं दृष्टि उपसमितिमा डा. कृष्णप्रसाद पौडेल चयन भएका छन् ।

प्रतिष्ठानले बीपी ज्ञान केन्द्र उपसमितिको संयोजकमा प्रकाश लामिछानेलाई जिम्मेवारी दिएको छ । उक्त उपसमितिले आगलागीमा क्षति पुगेको केन्द्रीय पुस्तकालय पुनर्संरचना गरी ‘बीपी विचार स्कुल’का रूपमा विकास गर्ने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ ।
