काठमाडौं । नेपाल बैंकले ग्राहक तथा कर्मचारीहरूलाई गुणस्तरीय सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले विभिन्न होटल तथा अस्पतालहरूसँग विशेष छुट दिने भएको छ । उक्त छुटका लागि बैंकले सम्झौता गरेको छ ।
सम्झौता अनुसार, पोखराको लेकसाइडमा रहेको डाहलिया होटलले नेपाल बैंकका ग्राहक र कर्मचारीहरूलाई विभिन्न सेवा शुल्कमा १० देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र पोखराको डाहलिया होटलका बिक्री निर्देशक सीता रायमाझीले हस्ताक्षर गरेका हुन् ।
त्यसैगरी, नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको रिसोर्ट कोटबारी होटल प्रा.लि. सँग पनि बैंकले सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य र ग्राहकहरूले रिसोर्टका विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । यसमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र होटलका तर्फबाट महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका थिए ।
विराटनगरको न्यूरो कार्डियो अस्पतालमा ५० प्रतिशतसम्मको छुट

स्वास्थ्य सेवातर्फ, विराटनगर–१० मा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल प्रा.लि. सँग बैंकले विशेष सम्झौता गरेको छ । यस अन्तर्गत बैंकका ग्राहक र कर्मचारीहरूले अस्पतालको स्वास्थ्य सेवा शुल्कमा ५ देखि ५० प्रतिशतसम्म भारी छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौतामा बैंकका कोसी प्रादेशिक कार्यालय प्रमुख सूर्य प्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका थिए । मुलुककै पहिलो बैंक नेपाल बैंकले देशभर रहेका २३१ शाखाहरू, २५६ एटीएम र ६१ एक्स्टेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।