काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनकासम्बन्धी घटनामा भएको हिंसा, तोडफोड र विध्वंसबारे सार्वजनिक गरेको प्रतिवेदनपछि एउटा नाम अहिले निकै चर्चामा आएको छ ।
प्रतिवेदनमा हिमानी राज्यलक्ष्मी सिंह नाम उल्लेख भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विभिन्न अड्कलबाजी सुरू भएका छन् । धेरैले उक्त नामलाई पूर्व युवराज्ञी हिमानी शाहसँग जोडेर हेरिरहेका छन् ।
हिमानी शाहको विवाहअघि माइती थर सिंह रहेकाले पनि धेरैले आयोगले पूर्व राजपरिवारसँग सम्बन्धित व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएको अनुमान गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा प्रभावशाली व्यक्तिहरूका निजी सम्पत्तिमाथि आक्रमण र तोडफोड भएका थिए । त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार कसले बनाउने भन्ने बहस चर्किएको थियो ।
त्यही समयमा संविधान परिवर्तन, हिन्दु राष्ट्र पुनर्स्थापना र राजासहितको व्यवस्था फर्काउने विषयमा समेत विभिन्न कोणबाट बहस भइरहेको थियो । आन्दोलनका क्रममा पूर्व राजपरिवारसँग सम्बन्धित कुनै सम्पत्तिमा क्षति नभएको विषयलाई लिएर पनि सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेका थिए ।

यही कारण प्रतिवेदनमा हिमानी राज्यलक्ष्मी सिंह नाम देखिएपछि आन्दोलन भड्काउन पूर्व राजपरिवारको कुनै भूमिका थियो कि भन्ने जिज्ञासा सर्वसाधारणमा फैलिएको देखिन्छ ।

यस विषयमा कर्पोरेट खबरले राष्ट्रिय मानव अधिकार आयोगसँग प्रश्न गर्दा आयोगले प्रतिवेदनमा उल्लेख गरिएकी हिमानी पूर्वयुवराज्ञी नभएको स्पष्ट पारेको छ । आयोगले प्रतिवेदनमा उल्लेख गरिएको व्यक्ति जेनजी आन्दोलनसँग सम्बन्धित एक अभियन्ता भएको बताएको छ ।

यद्यपि, अहिलेसम्म हिमानी राज्यलक्ष्मी सिंह नामकी ती अभियन्ताको विस्तृत सार्वजनिक पहिचान खुलेको छैन । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि सो नामकी कुनै चर्चित अभियन्ता अहिलेसम्म देखिएको पाइँदैन ।
यसैबीच, हामीले हिमानी ट्रस्टको सचिवालयसँग पनि प्रतिक्रिया लिएका थियौँ । सचिवालयले समेत प्रतिवेदनमा उल्लेख गरिएको व्यक्ति पूर्व युवराज्ञी हिमानी शाह नभएको स्पष्ट पारेको छ ।
प्रतिवेदन सार्वजनिक भएपछि नाम मिलेकै आधारमा विभिन्न भ्रम र आशङ्का फैलिएको भए पनि आधिकारिक निकायहरूले भने यस विषयमा स्पष्टीकरण दिइसकेका छैनन् ।
मानव अधिकार आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन हुनुपर्छ : दिनेश त्रिपाठी (कुराकानीसहित)