काठमाडौं । नेपालमा बीवाइडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले विद्युतीय सवारीसाधन आयात तथा भन्सार जाँचपास सम्बन्धमा सार्वजनिक रूपमा उठेका चासो र आरोपप्रति तथ्यगत स्पष्टिकरण दिएको छ।
कम्पनीले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका र भन्सार जाँचपास भएका सवारीसाधनहरू प्रचलित कानुन, भन्सार नियमावली तथा निर्धारित प्रक्रियाअनुसार नै आयात गरिएको जनाएको छ। कम्पनीका अनुसार चीनतर्फको भन्सार क्षेत्रमा आइपुगेका २२६ वटा सवारीसाधनको भने हालसम्म भन्सार जाँचपास प्रक्रिया सम्पन्न भएको छैन।
साइमेक्सले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ। ग्राहकबाट प्राप्त अग्रिम बुकिङ पूरा गर्न तथा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न नियमित व्यावसायिक योजनाअनुसार आयात गरिएको कम्पनीको भनाइ छ।
कम्पनीले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोप पूर्ण रूपमा निराधार र प्रतिष्ठामाथि आघात पुर्याउने खालको रहेको जनाएको छ। साथै, कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्दै आवश्यक सबै कागजात सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको स्पष्ट पारेको छ।
सञ्चारमाध्यम तथा सरोकारवालालाई आधिकारिक तथ्य पुष्टि नगरी भ्रम फैलाउने सामग्री प्रकाशन नगर्न आग्रह गर्दै साइमेक्सले नेपालमा स्वच्छ ऊर्जा र दिगो यातायात प्रवद्र्धनमा आफ्नो प्रतिबद्धता निरन्तर रहने जनाएको छ।


