काठमाडौं । भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
दिल्लीको जन्तर मन्तरमा हुने प्रदर्शन शान्तिपूर्ण हुने तथा भीडभाड नगर्न समर्थकलाई आग्रह गरिएको छ । प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आईपुग्नुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गर्दै आएका ३० वर्षीय डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ ।
उहाँ यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिनुभएको थियो । उहाँले झण्डै एक महिना अघि व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) स्थापना गर्नुभएको हो । यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रुपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि शुरु भएको थियो ।
कक्रोच जनता पाटी छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ । डिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनुभएको छ । भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ ।
