काठमाडौं । सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबिरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहिन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
साथै उनीहरुले नेपाली माटोको रक्षा गरौं, राष्ट्रको सम्मान जोगाऔं, गैरजिम्मेवारी अभिव्यक्तिको विरोध गरौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सो क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका बिषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।

उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने बिषय फरक भएको बताए । उनले सदनमा आफूहरुले राख्दै आएको अडान कायमै रहने समेत बताए ।
