काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ सम्म देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव संकलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको हो । बैठकले तय गरेको कार्यतालिका अनुसार विभिन्न प्रदेश तथा संरचनागत निकायहरूमा सुझाव संकलन कार्यक्रम यस प्रकार सञ्चालन हुनेछन् :
८ जेठ ३० गते: बागमती प्रदेश
८ असार २ गते: कोशी प्रदेश
८ असार ४ गते: लुम्बिनी प्रदेश
८ असार ६ गते: सुदूरपश्चिम प्रदेश
८ असार ८ गते: कर्णाली प्रदेश
८ असार ११ गते: गण्डकी प्रदेश
८ असार १३ गते: मधेश प्रदेश
८ असार १६ गते: राजधानी
८ असार १७ गते: सम्पर्क समन्वय
८ असार १८ गते: जनसंगठन
८ असार १९ गते: विभाग प्रमुख तथा निकायका पदाधिकारीहरू
प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ । त्यसैगरी, कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध, संगठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । उनले संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी राजनीतिक कार्यदिशाबारे आफ्नो धारणा पनि राखेका थिए ।
बैठकमा निर्वाचन समीक्षा, संगठन पुनर्गठन तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल भएको कार्यदलका सदस्य तथा एमाले सचिव महेश बस्नेतले जानकारी दिए ।

महासचिव पोखरेललाई पुनर्गठन कार्यदलको सदस्यसचिवको जिम्मा

नेकपा (एमाले)को पुनर्गठन तथा चुनावी समीक्षा कार्यदलको सदस्यसचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णय भएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले पोखरेललाई सदस्यसचिवको जिम्मेवारी तोकेको हो । कार्यदलको संयोजक उपाध्यक्ष रामबहादुर थापा बादल छन् ।
बैठकले यही जेठ ३० गतेबाट असार १९ गतेसम्म प्रदेशमा गएर सुझाव संकलन गर्ने तालिका बनाएको महासचिव पोखरेलले जानकारी दिए ।