काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभक्त श्रेष्ठलाई रहेको बताएका छन् ।
इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै कार्कीले यस्तो बताएका हुन् ।
‘ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेख्ने समय आएको छ । अहिलेसम्म शैलजा आचार्य भन्ने गरेका थियौं । तर अव त्यो ठाउँमा विराजभक्त क्षेष्ठको नाम पाउन सक्ने छौं ।’ उनले २०४९ सालमा सरकारले लिएको लक्ष्यले देश लोड सेडिङ अन्त्य गरेर ऊर्जा व्यापारमा प्रवेश गरेको बताए ।
निजी क्षेत्रको प्रवेश नभएको भए अहिले पनि १६ घण्टा लोडसेडिङको अवस्था भोग्नुपर्ने अवस्था रहने उनले बताए । बजेट र नीति तथा कार्यक्रम निजी क्षेत्रको समस्या समाधान गर्ने गरि आएको बताउँदै कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।
‘हामीले २्३ वर्षदेखि निरन्तर उठाउँदै आइरहेको कुरा र वाचापत्रमा समेटिएको कुरा नीति तथा कार्यक्रम र बजेटमा पनि आएको छ । त्यसैले अब काम हुन्छ भन्ने विश्वाश छ,’ कार्कीले भने, ‘टेक अर पे मा पीपीए गर्न भनेको छ । हामीले त्यो काम गर्छ भन्ने आशा छ । १८० दिनमा पीपीए गर्ने भनेको छ । १०० दिन पनि भएको छैन् । त्यो काम पनि हुन्छ भन्ने आशा गरेका छौं ।’

बजेटमा आएका कुरा कार्यान्वयन हुनेमा आफु विश्वस्त रहेको समेत उनले बताए । ‘यस अगाडिको कुरा पनि बजेटमा धेरै कुरा आए । तर कार्यान्वयन हुन सकेनन् । तर यसपालि रास्वपाको दुइतिहाइ नजिकको सरकार आएको छ । हामीले उठाउँदै आएको कुरा नीति तथा कार्यक्रम र बजेटमा पनि आएको छ,’ कार्कीले भने, ‘यसपालि कार्यान्वयन हुन्छ भन्ने आशा छ ।’

आरसीओडीको म्याद थप्न पनि सरकारलाई अनुरोध गरे । ‘हामीले धेरै लामो समयदेखि आरसीओडीको म्याद थप्न आग्रह गरेका छौं । तर पटक पटक बोर्डमा गएपनि म्याद थप भएको छैन् । मन्त्री ज्यूले म्याद थपिदिनु हुन्छु भन्ने हामीले आशा गरेका छौं ।’

सेबोनमा आईपीओको प्रक्रिया रोकिएको धेरै भएको भन्दै त्यसलाई समाधान गर्न पनि आग्रह गरे । ‘अप्लाइ गरेको २्३ वर्ष भयो । तर अहिलेसम्म कहिले आईपीओ स्वीकृति हुन्छ थाहा छैन् । हामीलाई तालुक मन्त्रालयबाट आउन आग्रह गरियो । हामी अर्थ मन्त्रालयबाट पनि गयौं । तर हाम्रो समस्या समाधान भएन,’ उनले भने, ‘सरकारले यो समस्याको समाधान गरिदिन्छ भन्ने आशा गरेका छौं ।’