काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ ।
शुक्रबार धुम्बाराहीस्थित सूर्य इभेन्ट्समा प्रारम्भ भएको केन्द्रीय समिति बैठकलाई तीन पुर्व अध्यक्षहरुले बहिष्कार गरेपछि विवाद बढेको हो ।
बैठकमा पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनी अनुपस्थित रहेका छन् । उनीहरुले महाधिवेशन बारे अध्यक्ष राजेन्द्र लिङदेनले लिएका निर्णयहरुप्रति असन्तुष्टि जनाएको बुझिएको छ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । शनिबारसम्म चल्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका पारित गर्ने बताइएको छ ।
राप्रपाका महामन्त्री रहेका धवलशम्शेर राणालगायतका सयभन्दा बढी नेताहरूले यसअघि नै राप्रपा छोडेर नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।
