नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–४ नहरखजुरा स्थित हुलाकी सडकखण्डमा विद्युतीय भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।
नेपालगन्जबाट बर्दियातर्फ जाँदै गरेको भे १ ज १७९९ नम्बरको विद्युतीय भ्यान र सोही दिशातर्फ गइरहेको भे ११ प ५०४३ नम्बरको मोटरसाइकल बाटो काट्ने क्रममा ठोक्किँदा भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका बेला भ्यानमा चालकसहित १५ जना सवार रहेका थिए। दुर्घटनामा भ्यानमा सवार ७ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा पठाइएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त भ्यान घटनास्थलमै रहेको छ भने सडक दुवैतर्फ सञ्चालनमा रहेको छ ।
घाइते हुनेमा भ्यान चालक बर्दियाको बढैयाताल गाउँपालिका-२ का २३ वर्षीय सोमबहादुर थापा क्षेत्री, मधुवन नगरपालिका-३ का ३५ वर्षीय रुद्रबहादुर सोमै मगर, राजापुर नगरपालिका-१० की २८ वर्षीया जगमानी चौधरी, मधुवन नगरपालिका-७ की २४ वर्षीया पुष्पा तामाङ, उनका २२ वर्षीय श्रीमान् अजय तामाङ, मधुवन नगरपालिका-३ की ३२ वर्षीया अस्मिता चौधरी तथा बैजनाथ गाउँपालिका-४ का २० वर्षीय बिमल सुनार रहेका छन् । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।