काठमाडौं । आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ मा सहभागी हुने कम्पनीहरूका लागि स्टल बाँडफाँटको गोला प्रथा सम्पन्न भएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आइतबार आफ्नो केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रदर्शनीमा सहभागी कम्पनीहरूलाई स्टल उपलब्ध गराएको हो। गत महिना स्टलका लागि आवेदन तथा दर्ता खुला गरिएको थियो।
नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गोला प्रथामार्फत प्रदर्शनीमा रहने विभिन्न स्टलहरूको अन्तिम टुंगो लगाइएको नाडाले जनाएको छ।
गोला प्रथाअनुसार १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलको बाँडफाँट गरिएको छ। साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई स्टल प्रदान गरिएको नाडाले जानकारी दिएको छ।
यस वर्ष अटो शोमा सवारीसाधन, अटो कम्पोनेन्ट्स, वित्तीय सेवा प्रदायक तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाको सहभागिता रहनेछ। नाडाका अनुसार यो प्रदर्शनी नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीको हुनेछ।

स्टल बाँडफाँट कार्यक्रमपछि नाडाका महासचिव मिलनबाबु मल्लले अटो शोप्रति देखाइएको उत्साह र सहभागिताका लागि सबै सहभागी कम्पनीप्रति आभार व्यक्त गर्दै यस वर्षको प्रदर्शनीलाई अझ भव्य र प्रभावकारी बनाइने विश्वास व्यक्त गरे।