काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रूपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपिआईमा आधारित भुक्तानी प्रणाली सुरू गरेको घोषणा गरेका छन्।
यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपिआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ।
एपिआईमा आधारित भुक्तानीको थालनीसँगै परम्परागत म्यानुअल र ब्याचमा आधारित प्रक्रियालाई पूर्ण रुपमा स्वचालित, वास्तविक समयमै भुक्तानी हुने इकोसिस्टमले प्रतिस्थापन गर्नेछ।
यसैगरी यी दुई बैंकबीच एपिआईमार्फत अमेरिकी डलर भुक्तानीका लागि समझदारी हुने र त्यसले सीमापार सहकार्यमा महत्वपूर्ण कोसेढुंगाको काम गर्ने बताइएको छ।
सो अवसरमा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सिएफओ) निरज ढकालले यो पहललाई सानिमा बैंकले सीमापार बैंकिङ सेवालाई नवीन, सरल, छिटो र भरपर्दो बनाउने प्रतिबद्धताको विस्तार भएको र यसले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई छिटो, सहज र सुरक्षित बनाउने तथा ग्राहक अनुभवमा उल्लेख्य सुधार ल्याउने बताए।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका हेड हफ फाइनान्सियल इन्टिटुयुसन राजकमल बस्नेतले भने, ’यो साझेदारी स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीमापार विज्ञता र सानिमा बैंकको प्रविधिमैत्री एपिआईमा आधारित भुक्तानी समाधान प्रदान गर्ने प्रयासको संगम हो। यसले अन्तर्राष्ट्रिय कारोबारको प्रक्रिया समय र लागत घटाउने, पारदर्शिता बढाउने र दक्षता, सुरक्षा तथा अनुपालन सुदृढ बनाउनेछ।’