दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् । उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएका थिए ।
घटनापछि बुढाथोकी फरार रहेका थिए । सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो । त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै सोमबार घोराही उपमहानगरपालिका–१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।