सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटवाल निर्वाचित भएकी छन् ।
शनिबार राति सम्पन्न निर्वाचनमा कटवाल १५ मतान्तरले अध्यक्षमा निर्वाचित भएसागै संघको १६ वर्षे इतिहासमा पुरुष नेतृत्वको निरन्तरता टुटेको हो ।
कुल २ हजार १८३ मतदातामध्ये १ हजार ५४३ मत खसेको र कटवालले ७५८ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी नवराज काफ्लेले ७४३ मत पाएका थिए ।
अध्यक्षमा कटवाल निर्वाचित भए पनि कार्यसमितिका अधिकांश खुला सदस्यमा भने काफ्ले समूहको वर्चस्व छ । सर्वाधिक ९८९ मतसहित जीवन न्यौपाने निर्वाचित भए भने सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय शाह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापासमेत काफ्ले समूहबाट विजयी भए ।
एसोसिएट सदस्यमा विनोद पौडेल र वस्तुगत सदस्यमा सन्जोग पराजुली यसअघि नै सर्वसम्मत भइसकेका थिए । महिला सदस्यमा भने काफ्ले समूहकी मिना ढकाल र कटवाल समूहकी सुमित्रा भट्टराई निर्वाचित भएका छन् ।
कटवाल उद्योग वाणिज्य संघ इटहरीकी पूर्वकोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्ष हुन् । निर्वाचन अभियानका क्रममा उनले संघमा पारदर्शिता, संस्थागत सुधार, व्यवसायीमैत्री सेवा र महिला नेतृत्वको सशक्त सहभागितालाई प्राथमिक एजेन्डा बनाएकी थिइन् ।