काठमाडौं । एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गरेको एक महिना पूरा भएको छ।
विश्वकै सबैभन्दा ठूलो आईपीओमध्ये एक मानिएको यस कम्पनीको सेयरले सुरुवाती दिनमा ऐतिहासिक उछाल देखाए पनि अहिले लगानीकर्ताहरू केही सतर्क बनेका छन्।
बीबीसीका अनुसार कम्पनीले आईपीओमा प्रतिसेयर १३५ अमेरिकी डलर मूल्य निर्धारण गरेको थियो। तर कारोबार सुरु भएको पहिलो दिनमै सेयर मूल्य १७६ डलरसम्म पुगेको थियो भने अन्त्यमा १६०.९५ डलरमा बन्द भएको थियो।
आईपीओपछि पहिलो सातामै स्पेसएक्सको सेयर मूल्य २२५ डलरसम्म पुगेपछि बजार मूल्यका आधारमा कम्पनीले अमेजन र माइक्रोसफ्टजस्ता ठूला कम्पनीलाई समेत उछिनेको थियो। विश्लेषकहरूका अनुसार लगानीकर्ताले स्पेसएक्सलाई केवल अन्तरिक्ष प्रविधिको कम्पनीका रूपमा मात्र नभई कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा पनि ठूलो सम्भावना बोकेको कम्पनीका रूपमा हेरेकाले सेयरमा असाधारण उत्साह देखिएको थियो।
तर पहिलो महिना पूरा हुँदा कम्पनीको सेयर मूल्य घटेर करिब १४५ डलरको हाराहारीमा झरेको छ, जुन उच्च विन्दुभन्दा करिब ३५ प्रतिशत कम हो।
विशेषगरी स्टारलिंक सेवाको शुल्क घटाउने निर्णयपछि कम्पनीको आम्दानी र भविष्यको नाफाबारे लगानीकर्ताहरूले प्रश्न उठाउन थालेका छन्। यही समाचार सार्वजनिक भएपछि मात्रै एकै दिन कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको थियो।
यसबीच एलन मस्कले अर्को रणनीतिक निर्णय पनि गरेका छन्। सेयर मूल्य उच्च रहेका बेला उनले ‘कर्सर’ नामक एआई स्टार्टअपलाई ६० अर्ब अमेरिकी डलर बराबरको सेयर आदान–प्रदानमार्फत खरिद गर्ने घोषणा गरेका थिए।
नगद खर्च नगरी आफ्नै कम्पनीको उच्च मूल्यको सेयर प्रयोग गरेर गरिएको यो सम्झौतालाई विश्लेषकहरूले मस्कको रणनीतिक कदमका रूपमा लिएका छन्।
सेयर मूल्यमा केही गिरावट आए पनि एलन मस्कको सम्पत्ति भने निरन्तर बढिरहेको छ। उनले सन् २०३० सम्म स्पेसएक्सको वार्षिक आम्दानी एक ट्रिलियन अमेरिकी डलर पुर्याउने महत्वाकांक्षी लक्ष्य राखेका छन्। गत वर्ष कम्पनीको आम्दानी करिब १८ अर्ब डलर रहेको थियो।
बजार विश्लेषकहरूका अनुसार हाल केही साना लगानीकर्ताले घाटा व्यहोरे पनि संस्थागत तथा ठूला लगानीकर्ता भने कम्पनीप्रति अझै आशावादी छन्। मर्गन स्टेनलीलगायत केही लगानी बैंकहरूले भविष्यमा स्पेसएक्सको सेयर मूल्य ३०० डलरसम्म पुग्न सक्ने अनुमान गरेका छन्।
अब लगानीकर्ताको ध्यान अगस्टमा सार्वजनिक हुने स्पेसएक्सको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनतर्फ केन्द्रित भएको छ।
त्यही समयमा कम्पनीका कर्मचारीहरूले आफ्नो सेयर बिक्री गर्न पाउने ‘लक–अप’ अवधि पनि समाप्त हुने भएकाले बजारमा थप उतारचढाव आउन सक्ने विश्लेषण गरिएको छ।