काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको छ।
आइतबार साँझ अमेरिकाले इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेपछि केही घण्टामै इरानले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको जनाएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार आइतबार साँझ (अमेरिकी समय अनुसार साँझ ५ बजे) सुरु भएको आक्रमणमा इरानका दर्जनौं सैन्य लक्ष्य ध्वस्त पारिएको छ। तीमध्ये हवाई प्रतिरक्षा प्रणाली, तटीय राडार केन्द्र तथा मिसाइल र ड्रोन क्षमता रहेका सैन्य संरचना समावेश छन्।
सेन्टकमले इरानको निरन्तर धम्की र आक्रामक गतिविधिका बाबजुद अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको निर्बाध आवतजावत सुनिश्चित गर्न अमेरिकी सेना तयार रहेको जनाएको छ।
उता, इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमणमा दक्षिणपश्चिमी इरानमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सरकारी समाचार संस्था इरनाले खुजेस्तान प्रान्तका सुरक्षा अधिकारीको उद्धरण दिँदै उक्त जानकारी दिएको हो।
यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत, बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ। यसअघि पनि इरानले कतार र संयुक्त अरब इमिरेट्स (यूएई) लगायत क्षेत्रमा अमेरिकी तथा उसका सहयोगी राष्ट्रका सैन्य संरचनालाई निशाना बनाएको थियो।
दुवै देशबीच बढ्दो तनावका कारण गत जुनमा भएको अन्तरिम अमेरिका–इरान समझदारीको भविष्य अन्योलमा परेको छ। उक्त सहमतिले रणनीतिक महत्वको होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने र दीर्घकालीन युद्धविरामतर्फ अघि बढ्ने लक्ष्य राखेको थियो।
तर, अहिले जलडमरूमध्यको अवस्थाबारे पनि दुवै देशबीच फरक–फरक दाबी गरिएको छ। इरानले होर्मुज जलडमरूमध्य अर्को सूचना नभएसम्म बन्द गरिएको जनाएको छ भने अमेरिकाले भने जलमार्ग खुला रहेको र अन्तर्राष्ट्रिय जहाज आवतजावत सुरक्षित रहेको दाबी गरेको छ।
विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्गबाट ओसारपसार हुने भएकाले यस क्षेत्रको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पारेको छ।
तनाव बढेसँगै सोमबार एसियाली बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ। ब्रेन्ट क्रुडको मूल्य ४.३ प्रतिशतले बढेर प्रतिव्यारेल ७९.२६ अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्लुटीआई क्रुड पनि ४.३ प्रतिशतले बढेर ७४.५० डलर प्रतिव्यारेल पुगेको छ।
यस अघि शनिबार अमेरिकाले इरानका १४० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो। त्यसको जवाफस्वरूप इरानले अमेरिकी सैन्य अड्डा तथा उसका क्षेत्रीय साझेदारहरूलाई लक्षित गर्दै आक्रमण तीव्र पारेको हो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पछिल्ला आक्रमणले युद्धविराम प्रभावहीन बनेको बताएका छन्। यद्यपि, वार्ता जारी रहने र मध्यस्थकर्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको उनले बताएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने युद्धविरामको उल्लंघन अमेरिका स्वयंले गरेको आरोप लगाएका छन्।