काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्वहाली भएकी छन् ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पहाडी पुन: आफ्नो जिम्मेवारीमा फर्किएकी हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत असार २६ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पहाडीको निलम्बन फुकुवा गरी उनलाई टेलिकममा पुनर्वहाली गरिएको हो । यसअघि लागेको आरोपका कारण उनी निलम्बनमा परेकी थिइन् ।
पदबहालीका क्रममा आयोजित विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैसँग डराउनु नपर्ने बताइन् ।
उनले विगतमा आफूमाथि लागेका आरोप र सिर्जना गरिएको भ्रमको बादल हटेर अन्तत: सत्य स्थापित भएको उल्लेख गरिन्। साथै, आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व प्रदान गर्ने सम्पूर्ण टिमप्रति उनले हार्दिक धन्यवाद ज्ञापन गरिन् ।
आगामी कार्यदिशाका बारेमा बोल्दै अर्यालले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औंल्याइन्। उनले अबका दिनमा आन्तरिक पक्षका साथै बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने प्रतिबद्धता व्यक्त गरिन् ।