काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित जिल्लाका नागरिकलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ।
कम्पनीले क्षतिग्रस्त एनटी फाइबर केबल र राउटर नि:शुल्क उपलब्ध गराउनेदेखि प्रभावित ग्राहकको फाइबर इन्टरनेटको म्याद थप, सिमकार्ड पुन: वितरण तथा विभिन्न निकायलाई नि:शुल्क इन्टरनेट र प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक आसपासका बाढी प्रभावित नागरिकलाई लक्षित गरी उक्त सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
बाढीका कारण क्षति भएका र पुन: प्रयोग गर्न नसकिने अवस्थामा रहेका एनटी फाइबरका केबल तथा राउटर नि:शुल्क उपलब्ध गराई पुन: जडान गरिने कम्पनीले जनाएको छ। त्यस्तै, बाढी प्रभावित क्षेत्रमा एनटी फाइबर सेवा प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि सकिएमा थप तीन महिनासम्म नि:शुल्क सेवा उपलब्ध गराइनेछ।
बाढी प्रभावित क्षेत्रमा रहेका ग्राहकको नाममा दर्ता भएका सिमकार्ड पुन: वितरण गर्ने व्यवस्था पनि गरिएको छ। त्यसका लागि ग्राहकले पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने र ती नम्बर बाढी प्रभावित क्षेत्रमा रहेको पुष्टि भएपछि सम्बन्धित नम्बरको पुन: प्रमाणीकरण गरी सिमकार्ड उपलब्ध गराइने टेलिकमले जनाएको छ।

बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रका ग्राहकलाई प्याकेजसहित उपलब्ध गराइएका ती सिमकार्डको विवरण अद्यावधिक गरी अभिलेख राख्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मुख्य सर्भरदेखि ब्याकअप सर्भरसम्म नि:शुल्क सञ्चार सम्पर्क स्थापना गर्न आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
त्यस्तै, बाढी प्रभावित नागरिकलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा मनोपरामर्श सेवा प्रदान गर्दै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपालको नाममा जडान भएको टोल फ्री नम्बर १८१०५०००४०२ को तीन महिनासम्मको मासिक बिल नि:शुल्क गरिएको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा नेपाल प्रहरी विपद् उद्धार एवम् प्रतिकार्य तालिम केन्द्र र राधास्वामी सत्संग व्यास नेपाल, सामाखुशी केन्द्रमा राहत सङ्कलन तथा व्यवस्थापनका लागि एक महिनासम्म १०० एमबीपीएस क्षमताको नि:शुल्क इन्टरनेट उपलब्ध गराइएको छ।
जिल्ला प्रशासन कार्यालय भरतपुरमा रहेको विपद् व्यवस्थापन युनिटलाई पनि एक वर्षसम्म १०० एमबीपीएस क्षमताको नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। त्यस्तै, रसुवा बाढीबाट प्रभावित क्षेत्रबाट प्राप्त हुने सूचना, क्षतिको विवरण, राहत तथा उद्धारसम्बन्धी जानकारी, फिल्ड रिपोर्ट, फोटो र भिडियो लगायतका तथ्याङ्क समयमै सङ्कलन तथा प्रवाह गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक वर्षका लागि उच्च गतिको नि:शुल्क इन्टरनेट र प्राविधिक सहयोग उपलब्ध गराइएको छ।