काठमाडौं । धनगढीस्थित जेपी क्लासिक इन्टरनेशनल ले देशभरका डिलरमध्ये सबैभन्दा बढी कारोबार गरेको भन्दै प्रतिष्ठित ‘उत्कृष्ट डिलर अवार्ड’ प्राप्त गरेको छ ।
कम्पनीले लगातार दोस्रो वर्ष पनि उक्त सम्मान जित्दै आफ्नो व्यावसायिक उत्कृष्टता कायम राख्न सफल भएको हो ।
विराटनगरमा आयोजित पूर्वाञ्चल लुब्रिकेन्ट को २७औँ डिलर कन्फ्रेन्समा जेपी क्लासिक इन्टरनेशनलका सञ्चालक ठाकुर र उनकी धर्मपत्नी मधु पाठक ठाकुरलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पुर्वाञ्चल लुब्रिकेन्टका सञ्चालक भोलेश्वर दुलाल र प्रमुख अतिथि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले संयुक्त रूपमा प्रमाणपत्र, मेडल तथा नगद २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सम्मान ग्रहणपछि सञ्चालक ठाकुरले यो सम्मान आफ्नो कम्पनी, ग्राहक, कर्मचारी र व्यावसायिक साझेदारहरूको साझा उपलब्धि भएको बताए ।
उनले भने, ’लगातार दोस्रो वर्ष देशकै उत्कृष्ट डिलरका रूपमा सम्मानित हुनु हाम्रो लागि अत्यन्त गौरवको विषय हो । यो अवार्ड मेरो एक्लो प्रयासको परिणाम होइन, सम्पूर्ण ग्राहक, कर्मचारी, व्यवसायिक साझेदार र परिवारको साथ तथा विश्वासको प्रतिफल हो ।
आगामी दिनमा पनि गुणस्तरीय सेवा, विश्वास र इमानदार व्यवसायमार्फत अझ उत्कृष्ट काम गर्दै ग्राहकको भरोसा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
ठाकुर समूहले धनगढी र काठमाडौंमा अटोमोबाइल व्यवसायका साथै खाद्यान्न, जडीबुटी लगायत विभिन्न क्षेत्रमा सफल व्यवसाय सञ्चालन गर्दै आएको छ । समूहले व्यावसायिक विश्वसनीयता, ग्राहकमैत्री सेवा र गुणस्तरीय उत्पादनमार्फत सुदूरपश्चिमको निजी क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
लगातार दुई वर्षसम्म राष्ट्रिय स्तरको ‘उत्कृष्ट डिलर अवार्ड’ जित्न सफल भएपछि व्यवसायिक क्षेत्रमा जेपी क्लासिक इन्टरनेशनलको प्रतिष्ठा अझ मजबुत बनेको छ ।