काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका दुई जना प्रतिनिधि सञ्चालकको पद रिक्त भएको छ।
संस्थाको सञ्चालक समितिको साउन ६ गते बसेको ४८८औँ बैठकले संस्थापक सेयरधनी स्वावलम्बन विकास केन्द्रका तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सञ्चालक बेचन गिरि र सो केन्द्रसहित अन्य व्यक्तिगत संस्थापकहरूको तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सञ्चालक गोकुल प्याकुरेलको सञ्चालक पद स्वत: रिक्त भएको निर्णय गरेको हो।
संस्थाका अनुसार दुवै सञ्चालक मनासिब माफिकको कारण र पूर्वसूचनाबिना लगातार तीन पटकभन्दा बढी सञ्चालक समितिको बैठकमा अनुपस्थित भएका थिए।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. ६ को बुँदा नं. १ को उपबुँदा (११) बमोजिम उनीहरूको सञ्चालक पद स्वत: रिक्त भएको संस्थाले जनाएको छ।
सञ्चालक समितिको बैठकले उक्त निर्णयबारे नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियामक निकायलाई जानकारी गराउने निर्णयसमेत गरेको छ।