काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको हस्तकला क्षत्रेको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।
बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै उनले नेपालको हस्तकला क्षेत्र मुलुककै पहिचानको क्षेत्रका भएकाले यस क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका हुन् ।
सातै प्रदेशमा हस्तकलाग्राम खडा गरेर रोजगारी सिर्जना गर्नका लागि महासंघ र सम्बन्धीत निकायसंग सहकार्य गर्ने उनले बताए ।
साथै प्रधानमन्त्री शाहले देशको हस्तकलामार्फत देशको पहिचान र निर्यातमार्फत राजस्व बृद्धि गर्ने सरकारको लक्ष्य रहेको समेत धारणा राखेको छलफलमा सहभागी नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।
आफूहरूले विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रियकरण गर्नm प्रस्ताव गरेकोमा सम्बन्धित निकायमार्फत निर्णय गर्ने प्रतिबद्धता समेत आएको अध्यक्ष शाक्ले बताए ।
त्यस्तै, हस्तकला क्षेत्रका समस्या, चुनौती र अवसरहरूको समष्टिगत रूपमा मूल्याङ्कन र निराकरण गर्न हस्तकला विकास बोर्ड खडा गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री व्यक्त गरेको उनले बताए ।
त्यसैगरी विगत केही वर्षदेखि रोकिएर रहेको ’सार्क हस्तकला विकास केन्द्र’ लाई यथाशीघ्र सम्बन्धित निकायहरूसँग समन्वय गरी सञ्चालनमा ल्याउने लगाएतका बिषयमा पनि छलफल भएको अध्यक्ष शाक्यले जानकारी दिए ।
छलफलमा महासंघका अध्यक्ष शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा, निर्यातकर्तालगाएतको सहभागीता रहेका थियो ।