काठमाडौं । नेपालको अटोमोबाइल बजारमा हुन्डाईको नाम नसुन्ने सायदै कोही होला।
पछिल्लो समय नवलपरासीमा स्थापित एसेम्बली प्लान्टमार्फत ‘मेड इन नेपाल’ गाडीसमेत उत्पादन सुरु भएसँगै यसको उपस्थिति थप मजबुत बनेको छ।
हुन्डाईले नवलपरासीको रामग्राममा साढे ९ बिघा क्षेत्रफलमा ठूलो लगानीसहितको एसेम्बली प्लान्ट स्थापना गरेको छ। यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ।
नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल तथा लक्ष्मी मोटर कर्पोरेशनले हुन्डाईका गाडी बिक्री वितरण गरिरहेका छन्। नेपाली सडक सुहाउँदा क्रेटा, भेन्यु जस्ता एसयूभी र ह्याचब्याक गाडीहरू तथा प्रिमियम क्रेटा ईभी निकै लोकप्रिय छन्।
ह्याचब्याक र इन्ट्री लेभल एक्सयुभी अन्तर्गत ग्रान्ड आई–टेन र हुन्डाई एक्स्टर रहेका छन्।
हुन्डाई एक्स्टर
हुन्डाई एक्स्टर सानो बजेटमा एसयूभीको लुक चाहिनेका लागि लक्षित गाडी हो। यसमा १.२ लिटर इन्जिन, ६ वटा एयरब्याग, सनरुफ र ड्याशक्याम जस्ता आधुनिक फिचरहरू उपलब्ध रहेका छन्। यसको मूल्य ३६ लाख ९६ हजारदेखि ४६ लाख ९६ हजारसम्म पर्छ।
ग्रान्ड आई–टेन
यो सहरी बाटोका लागि एकदमै सुहाउँदो ह्याचब्याक गाडी हो। यसमा १.२ लिटर पेट्रोल इन्जिन, टचस्क्रिन इन्फोटेनमेन्ट, रियर एसी भेन्ट र राम्रो माइलेज जस्ता विशेषताहरू रहेका छन्।
यसको मूल्य भेरियन्ट अनुसार ३३ लाख ५६ हजारदेखि ४१ लाख २६ हजारसम्म पर्छ।
कम्प्याक्ट र मिड–साइजबिचका एसयूभी अन्तर्गत हुन्डाई भेन्यू र हुन्डाई क्रेटाका मोडलहरू उपलब्ध रहेका छन्।
हुन्डाई भेन्यू
नेपालमा सबैभन्दा बढी बिक्री हुने र रुचाइएको एसयूभी हुन्डाई भेन्यू मानिन्छ। नेपालमै बनेका भेरियन्टहरू पनि उपलब्ध छन्। १.५ लिटर इन्जिन, प्यानोरामिक सनरुफ, एडीएएस सुरक्षा प्रणाली र भेन्टिलेटेड सिट यसका मुख्य फिचर हुन्। क्रेटा पेट्रोल (इम्पोर्टेड) को मूल्य ६५ लाख ९६ हजारदेखि ७० लाख ५६ हजारसम्म पर्छ।
नेपालमै बनेको नयाँ क्रेटाको मूल्य भने ५५ लाख ५६ हजारदेखि ८० लाख ५६ हजारसम्म पर्छ।
प्रिमियम र लक्जरी एसयूभीमा हुन्डाई टक्सन, हुन्डाई सान्टा फे र हुन्डाई प्यालिसेड मोडलहरू उपलब्ध रहेका छन्।
हुन्डाई टक्सन
हुन्डाई टक्सनलाई तपाईंले २.० लिटर पेट्रोल–डिजेल र १.६ टर्बो इन्जिनमा उपलब्ध प्रिमियम एसयूभी रूपमा पाउनुहुनेछ। अल–ह्विल–ड्राइभ विकल्प, अत्याधुनिक फ्युचरिस्टिक डिजाइन र प्रिमियम इन्टेरियर यसमा पाइन्छ। यसको मूल्य १ करोड ७ लाख ९६ हजारदेखि १ करोड ६२ लाख ९६ हजारसम्म पर्छ।
हुन्डाई सान्टा फे
हुन्डाई सान्टा फे एक प्रिमियम तथा आरामदायी एसयूभी हो। यसका मुख्य विशेषताहरूमा आकर्षक डिजाइन, फराकिलो इन्टेरियर, फ्लोटिङ टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, आकर्षक १२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र ड्यूल टोन इन्टेरियर मुख्य आकर्षण हुन्।
सान्टा फेमा अटोमेटेड इमर्जेन्सी ब्रेकिङ, एडप्टीभ क्रुज कन्ट्रोल, लेन किपिङ एसिस्ट, रियर क्रस ट्राफिक कोलिसन एभ्वइडेन्स एसिस्ट, रिमोट स्मार्ट पार्किङ एसिस्ट, हाइवे ड्राइभ एसिस्ट लगायतका फिचरहरू यसमा पाउन सकिन्छ।
यसको मूल्य नेपाली बजारमा १ करोड ८९ लाख ९६ हजारसम्म पर्छ।
हुन्डाई प्यालिसेड
हुन्डाई प्यालिसेड, हुन्डाईको सबैभन्दा महँगो र फ्ल्यागसिप लक्जरी एसयूभी हो। यसमा २.२ लिटरको डिजेल इन्जिन दिइएको छ। उक्त इन्जिनले २०० पीएस पावर तथा ४४१ एनएम टर्क प्रदान गर्छ। ८–स्पीड अटोमेटिक गेयरबक्स, प्रिमियम लेदर र भीआईपी राइडिङ एक्सपिरियन्स यसमा पाउन सकिन्छ।
हुन्डाई प्यालिसेडको मूल्य २ करोड ३५ लाख ९६ हजारसम्म पर्छ।
हुन्डाईका विद्युतीय गाडीहरू
नेपालमा हुन्डाईका ईभी पनि निकै नै लोकप्रिय छन्। हुन्डाईका क्रेटा ईभी, कोना र आयोनिक ५ मोडलहरू बजारमा उपलब्ध रहेका छन्।
क्रेटा ईभी
क्रेटा ईभी, क्रेटाकै बडी–डिजाइनमा आधारित विद्युतीय अवतार हो।
यसमा ४२ किलोवाट आवरदेखि ठूलो ब्याट्री क्षमता, ९९ किलोवाटदेखि १२६ किलोवाट मोटर र आधुनिक ईभी फिचरहरू पाइन्छ। यसको मूल्य भेरियन्ट अनुसार ५१ लाख ९६ हजारदेखि ७६ लाख ९६ हजारसम्म पर्छ।
हुन्डाई कोना
हुन्डाई कोना, नेपाली बजारमा ईभीको विश्वास दिलाउने लोकप्रिय मोडल बनेको छ। यसले १०० किलोवाट मोटर, मजबुत बिल्ड क्वालिटी र दैनिक यात्राका लागि उत्कृष्ट रेञ्ज प्रदान गर्छ।
भेरियन्ट अनुसार यसको मूल्य ५९ लाख ९६ हजारदेखि ६४ लाख ९६ हजारसम्म पर्छ।
हुन्डाई आयोनिक ५
हुन्डाई आयोनिक ५, ८०० भोल्ट सुपर–फास्ट चार्जिङ आर्किटेक्चर, भि२एल (गाडीबाट अरू सामान चलाउन मिल्ने), प्यानोरामिक भिजन रुफ र अटोमोबाइलबिकै विश्वस्तरीय अवार्ड जितेको ईभी हो।
भेरियन्ट अनुसार यसको मूल्य ९२ लाख ९६ हजारदेखि १ करोड ३ लाख ९६ हजारसम्म पर्छ।
स्थानीय तहमा गाडी एसेम्बल हुन थालेपछि गाडीका पार्टपुर्जाहरू सहजै पाइने र बिक्रीपछिको सेवा थप भरपर्दो बनेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलको बलियो सञ्जाल मुख्य सहरहरूमा फैलिएको हुनाले तपाईंले आधिकारिक सर्भिस र स्पेयर पार्ट्सको कुनै चिन्ता लिनु पर्दैन।