काठमाडौं । निसान नेपालको अटोमोबाइल बजारमा एक पुरानो, लोकप्रिय र भरपर्दो जापानी ब्रान्ड हो।
जापानी प्रविधि, बलियो बिल्ड क्वालिटी, उच्च ग्राउन्ड क्लियरेन्स र उत्कृष्ट पर्फर्मेन्सका कारण नेपाली सडकमा निसानका गाडीहरू ग्राहकको रोजाइमा पर्ने गरेका छन्।
नेपालमा निसान गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक पायोनियर मोटोकर्प प्रा. लि. हो। काठमाडौँको थापाथली लगायत देशका प्रमुख सहरहरूमा पायनियर मोटोकर्पले शोरुम, आधुनिक सर्भिस सेन्टर र थ्री–एस सुविधामार्फत सेवा प्रदान गरिरहेको छ।
नेपालमा निसानका निसान म्याग्नाइट, निसान किक्स, निसान लिफ, निसान नभारा जस्ता बहुप्रतिष्ठित मोडलहरू उपलब्ध रहेका छन्।
निसान म्याग्नाइट
यो निसानको कम्प्याक्ट एसयूभी हो। साथै नेपालमा निसान ब्रान्डलाई नयाँ उचाइमा पुर्याउने गाडी पनि यही हो भन्दा फरक नपर्ला। कम बजेटमा प्रिमियम लुक र उत्कृष्ट फिचर खोज्नेहरूका लागि निसान म्याग्नाइट नेपाली बजारमा निकै हिट मोडल मानिन्छ।
यो १.० लिटर न्याचुरली एस्पिरेटेड र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ। यसमा म्यानुअल र अटोमेटिक दुवै गेयरबक्स रोज्न पाइन्छ।
म्याग्नाइटमा २०५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली खाल्डाखाल्डी बाटोमा यो निकै उत्तम छ।
यसमा ८–इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ७–इन्चको डिजिटल ड्राइभर डिस्प्ले, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, र ५–स्टार सुरक्षा रेटिङ जस्ता फिचरहरू पाउन सकिन्छ।
यसको सुरुवाती मूल्य ३५ लाख ९९ हजार देखि ५२ लाख ५० हजार सम्म पर्छ।
निसान किक्स
निसान किक्स मिड–साइज्ड एसयूभी हो। यसमा १.५ लिटर पेट्रोल इन्जिन र १.३ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ।
यसको टर्बो इन्जिनले १५६ पीएस सम्मको उत्कृष्ट पावर दिन्छ, जुन आफ्नो सेग्मेन्टमै निकै शक्तिशाली मानिन्छ। २१० एमएमको ग्राउन्ड क्लियरेन्सका कारण यो पहाडी बाटोमा चलाउन निकै उपयुक्त मानिन्छ।
साथै यसमा ३६०–डिग्री क्यामेरा, ८–इन्च टचस्क्रिन, लेदर इन्टेरियर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ४ वटा एयरब्याग, र क्रुज कन्ट्रोल जस्ता विशेषताहरू उपलब्ध रहेका छन्। यसको मूल्य भेरियन्ट अनुसार ४८ लाख ९९ हजार देखि ६५ लाख ९९ हजार सम्म पर्छ।
निसान लिफ
निसान लिफ निकै नै लोकप्रिय विद्युतीय गाडी हो। विश्वभर विद्युतीय गाडीको क्रान्ति ल्याउने निसान लिफ नेपालमा पनि उपलब्ध निसानको प्रिमियम इभी हो।
निसान लिफ जापानी प्रविधिमा आधारित भरपर्दो विद्युतीय ह्याचब्याक/क्रसओभर हो। यसमा ४० किलोवाट आवरको ब्याट्री र ११० किलोवाट (करिब १४७ एचपी) को शक्तिशाली इलेक्ट्रिक मोटर रहेको छ।
यसमा तपाईंले इ–पेडल प्रविधि (एउटै पेडलले गाडी बढाउन र रोक्न सकिने), ३११ किमीसम्मको रेन्ज, प्रोपाइलट सेफ्टी सुविधाहरू, र फास्ट चार्जिङ सपोर्ट जस्ता फिचरहरू पाउनुहुनेछ।
यसको मूल्य नेपाली बजारमा ६४ लाख ९९ हजार सम्म पर्छ।
निसान नभारा
निसान नभारा अफ–रोड, एड्भेन्चर र भारी सामान ओसारपसारका लागि नेपालमा निकै प्रख्यात प्रिमियम पिकअप ट्रक हो।
यसमा २.५ लिटर टर्बो डिजेल इन्जिन, ४–ह्विल ड्राइभ क्षमता, उच्च भार वहन क्षमता, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, लेदर सिट, हिल डिसेन्ट कन्ट्रोल र मजबुत चेसिस बनावट जस्ता फिचरहरू उपलब्ध रहेका छन्।
यसको मूल्य भेरियन्ट अनुसार ९५ लाख ५० हजार देखि १ करोड १५ लाख सम्म पर्छ।
निसान एक्स–ट्रेल
निसानको प्रिमियम र लक्जरी एसयूभी अनुभव लिन चाहनेहरूका लागि निसान एक्स–ट्रेल एक उत्कृष्ट विकल्प साबित हुन सक्छ।
उपयुक्त फराकिलो इन्टेरियर, शक्तिशाली क्षमता र आधुनिक प्रविधिले भरिपूर्ण लक्जरी एसयूभीको रूपमा निसान एक्स–ट्रेल परिचित छ।
यसमा तपाईंले २.५ लिटर पेट्रोल इन्जिन वा ई–पावर प्रविधि, ४/४ ड्राइभिङ सिस्टम, प्यानोरामिक सनरुफ, थ्रि–रो सिटिङ, प्रिमियम लेदर फिनिसिङ र एड्भान्स ड्राइभर असिस्ट प्रविधि जस्ता फिचरहरू पाउनुहुनेछ।
यसको सुरुवाती मूल्य १ करोड ३५ लाख पर्छ भने अधिकतम १ करोड ६५ लाख सम्म पर्छ।
जापानी प्रविधि र टिकाउपनले निसानका इन्जिन र गाडीको बनावट निकै बलियो र लामो समयसम्म टिक्ने खालको हुन्छ।
नेपालको बाटो अनुसार यस गाडीलाई उच्च ग्राउन्ड क्लियरेन्स र दरिलो सस्पेन्सनका रूपमा डिजाइन गरिएको छ। जसका कारण नेपालका अफरोड र अप्ठ्यारा सडकहरूमा निसानका गाडीहरू निर्धक्क चलाउन सकिन्छ।
साथै कम्पनीले सर्भिसमा पनि कुनै कमी राखेको छैन। पायनियर मोटोकर्पको काठमाडौँ लगायत देशका मुख्य शहरहरूमा सर्भिस सेन्टर र स्पेयर पार्ट्स उपलब्ध भएकाले मर्मत–सम्भारमा समस्या देखिन्छ कि भन्ने चिन्ता पनि लिनु पर्दैन।