काठमाडौं । केही वर्ष अघि सम्म कृत्रिम बुद्धिमत्ता अर्थात् एआई र उच्च प्रविधिको क्षेत्रमा अमेरिका चीन भन्दा निकै अगाडि थियो । तर पछिल्लो समय चीनले एआई विकासमा तीव्र गति लिएपछि दुई देशबीचको प्रविधिगत दूरी छोटिँदै गएको छ ।
सन् २०२२ को अन्त्यतिर अमेरिकी कम्पनी ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि विश्वभर एआई प्रविधिको प्रयोग र विकासले नयाँ गति लिएको थियो । त्यही समयमा अमेरिकाले चीनतर्फ हुने अत्याधुनिक चिपको निर्यातमा प्रतिबन्ध थप कडा बनाउँदै लगेको थियो । त्यसबेला एआईको क्षेत्रमा चीन अमेरिकाभन्दा निकै पछाडि रहेको मानिन्थ्यो ।
तर त्यसयता चीनले आफ्नो गति उल्लेख्य रूपमा बढाएको छ । सन् २०२५ को सुरुवातमा चिनियाँ प्रविधि कम्पनी डीपसिकले ‘आर–१’ नामक खुला स्रोतमा आधारित एआई मोडल सार्वजनिक गरेपछि विश्वको ध्यान चीनतर्फ तानियो ।
डीपसिकको आर–१ अमेरिकी शीर्ष एआई मोडल भन्दा कम शक्तिशाली भए पनि तुलनात्मक रूपमा निकै कम लागतमा उच्च क्षमताको एआई विकास गर्न सकिने देखाएपछि यसले अमेरिकी प्रविधि उद्योगमा ठूलो तरंग ल्यायो । लगानीकर्तामाझ चिन्ता बढ्नुका साथै त्यसको असर विश्व सेयर बजारमा समेत देखियो ।
चिनियाँ कम्पनीहरूले अमेरिकी प्रविधि कम्पनीलाई चुनौती दिन सक्ने सम्भावनाले अहिले पनि लगानीकर्ता र प्रविधि क्षेत्रलाई प्रभावित गरिरहेको छ । पछिल्लो समय चीनका नयाँ एआई मोडलहरू अमेरिकी मोडलको क्षमतासँग नजिक पुगिरहेका छन् भने कतिपय चिनियाँ मोडल अमेरिकी विकल्पको तुलनामा निकै सस्तोमा उपलब्ध भइरहेका छन् ।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका रायन फेडासियुकका अनुसार उन्नत एआई सफ्टवेयर विकासमा अमेरिकाको अग्रता अनुमान गरिएभन्दा कमजोर हुन सक्छ ।
“उन्नत एआई सफ्टवेयर बनाउन अमेरिकाको अग्रता मानिसहरूले सोचेभन्दा कमजोर हुन सक्छ। चिनियाँ एआई प्रयोगशालाहरू उच्चस्तरका मोडल बनाउन सक्षम छन्,” फेडासियुकले भनेका छन्।
एआईमा कसले बनाउँछ विश्वको भविष्य ?
अमेरिका र चीनबीचको प्रतिस्पर्धा कुन देशको एआई मोडल राम्रो भन्नेमा मात्र सीमित छैन । यो भविष्यको अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, प्रविधि र विश्वव्यापी शक्ति सन्तुलनसँग जोडिएको विषय बनेको छ ।
एआईको प्रयोग मानिसको दैनिक जीवन, रोजगारी, व्यवसाय र निर्णय प्रक्रियासम्म विस्तार हुँदै गएपछि एआई सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा विश्वव्यापी मापदण्ड निर्धारण गर्ने क्षमता पनि रणनीतिक महत्वको विषय बनेको छ ।
फेडासियुकका अनुसार मानिसहरूले एआई कसरी प्रयोग गर्छन् भन्ने विषय भविष्यमा अझ महत्वपूर्ण हुँदै जानेछ । “मानिसहरूले एआईको प्रयोग कसरी गर्छन् भन्ने कुरा धेरै महत्त्वपूर्ण बन्दै गएको छ । यसले मानिसहरूको जीवनलाई परिभाषित गरिरहेको छ,” उनले भनेका छन्।
उनका अनुसार कम्प्युटिङ पूर्वाधार निर्माण र विश्वव्यापी एआई मापदण्ड निर्धारण गर्ने क्षमता अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धाको महत्वपूर्ण हिस्सा हो । यसले मानिसले कसरी जिउने, काम गर्ने र नियम पालना गर्ने भन्ने विषयसम्म प्रभाव पार्न सक्ने उनको विश्लेषण छ ।
यस प्रतिस्पर्धाले अमेरिका र चीनबाहेकका देशलाई समेत कठिन छनोटको अवस्थामा पुर्याएको छ । बेलायत र युरोपेली मुलुकहरू एकातर्फ अमेरिकी सहयोगी सम्बन्ध र अर्कोतर्फ सस्तो चिनियाँ प्रविधिको आर्थिक आकर्षण तथा त्यससँग जोडिएका सुरक्षा जोखिमबीच सन्तुलन खोज्नुपर्ने अवस्थामा छन् ।
खुला स्रोत एआईमा चीनको जोड
अमेरिका र चीनबीचको प्रतिस्पर्धाको अर्को महत्वपूर्ण पक्ष एआई मोडलको प्रकृति हो । डीपसिकको आर–१ लगायत चीनका केही एआई मोडल खुला स्रोतमा आधारित छन् । पर्याप्त कम्प्युटिङ क्षमता भएको जोसुकैले यस्ता मोडल डाउनलोड गरेर आफ्नै पूर्वाधारमा सञ्चालन गर्न सक्छ ।
यसको विपरीत च्याटजीपीटी तथा एन्थ्रोपिकका क्लाउडजस्ता मोडल निजी स्वामित्वमा रहेका प्रणाली हुन्, जसको सञ्चालन र पहुँच सम्बन्धित कम्पनीकै नियन्त्रणमा हुन्छ ।
खुला स्रोत एआई मोडलको मुख्य आकर्षण कम लागत र प्रयोगमा सहजता हो। प्रयोगकर्ताले आफ्नै सर्भरमा मोडल सञ्चालन गर्न सक्ने भएकाले कम्पनीको प्रत्यक्ष नियन्त्रणबाट बाहिर रहेर पनि एआई प्रविधिको प्रयोग गर्न सकिन्छ ।
खुला स्रोत मोडललाई लिएर अमेरिकी प्रविधि क्षेत्रमा भने फरक दृष्टिकोण पनि देखिन्छ । च्याटजीपीटीसँग सम्बन्धित कार्यकारी डिन बलले खुला स्रोत मोडललाई ‘एआई साम्यवाद’को संज्ञा दिएका छन् ।
यद्यपि खुला र निजी दुवै प्रकारका एआई प्रणालीका आ–आफ्नै सबल र कमजोर पक्ष छन् । खुला स्रोत मोडल सस्तो र पहुँचयोग्य भए पनि तिनका विकासकर्ताले दीर्घकालमा कसरी आम्दानी गर्ने भन्ने प्रश्न अझै स्पष्ट छैन ।
चीनलाई आत्मनिर्भर बनाउँदै अमेरिकी प्रतिबन्ध
अमेरिकाले चीनको अत्याधुनिक प्रविधिमा पहुँच सीमित गर्न लामो समयदेखि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । विशेषगरी अत्याधुनिक चिप तथा चिप निर्माणमा प्रयोग हुने उपकरणमा चीनको पहुँच रोक्ने अमेरिकी प्रयास जारी छ ।
अमेरिकाले ताइवानमा उत्पादन हुने अत्याधुनिक चिपमा चीनको पहुँच रोक्न दबाब बढाउनुका साथै नेदरल्यान्ड्सको एएसएमएलले उत्पादन गर्ने अत्याधुनिक चिप निर्माण उपकरणमा समेत चीनको पहुँच सीमित गरेको छ ।
तर अमेरिकी प्रतिबन्धले चीनलाई आफ्नै क्षमतामा निर्भर हुन थप दबाब दिएको छ। चीनले आफ्नै चिप उत्पादन, कम्प्युटिङ पूर्वाधार र एआई प्रविधि विकासलाई प्राथमिकता दिन थालेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले खुला स्रोत एआईलाई अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने माध्यमका रूपमा समेत अघि बढाइरहेका छन् । चीनले विभिन्न देशसँग एआईसम्बन्धी सहकार्य विस्तार गर्न खोजिरहेको छ ।
चीनमा डीपसिक, मुनसट र अलिबाबाजस्ता कम्पनी एआई विकासमा सक्रिय छन् । चिनियाँ सरकारले उद्योग, उत्पादन, स्वास्थ्य, दूरसञ्चारलगायत विभिन्न क्षेत्रमा एआईको प्रयोग विस्तार गर्ने नीति अघि बढाएको छ ।
सुस्त अर्थतन्त्रलाई एआईको सहारा
चीनका लागि एआईमा आत्मनिर्भरता राष्ट्रिय सुरक्षाको विषय मात्र होइन, आर्थिक पुनरुत्थानको आधारसमेत बनेको छ ।
चिनियाँ अर्थतन्त्र पछिल्ला वर्षहरूमा विभिन्न चुनौतीबाट गुज्रिरहेको छ । उद्योगलाई दिइने सरकारी अनुदानको भार, कमजोर आन्तरिक उपभोग तथा परम्परागत निर्यातमा देखिएका व्यापारिक अवरोधका कारण चीनलाई आर्थिक वृद्धिको नयाँ आधार आवश्यक परेको छ ।
यही कारण चीनले एआई र उच्च प्रविधिमा ठूलो लगानी बढाइरहेको छ ।
परामर्शदाता संस्था रोडियम ग्रुपका सिएल क्युईका अनुसार चीनले नयाँ आर्थिक वृद्धिको आधारका रूपमा एआईलाई अघि बढाइरहेको छ । “चीनले नयाँ आर्थिक वृद्धिका लागि यो नयाँ प्रविधिमा बाजी लगाइरहेको छ,” क्युईले भनेका छन्।
तर चीनका लागि यो प्रतिस्पर्धा सहज भने छैन । प्राइभेट इक्विटी लगानीकर्ता विन्स्टन मोकका अनुसार चीनले अमेरिकालाई मात्र चुनौती दिइरहेको छैन । “चीनको चुनौती अमेरिकालाई मात्र जित्नु होइन । उसले पूरै पश्चिमी विश्वको संयुक्त प्राविधिक क्षमताको बराबरी गर्नुपर्छ,” मोकले लेखेका छन् ।
चीनको सबैभन्दा ठूलो कमजोरीमध्ये एक अत्याधुनिक चिप उत्पादन र पर्याप्त कम्प्युटिङ क्षमताको अभाव पनि हो । यही कारण मुनसटजस्ता एआई कम्पनीलाई आफ्ना मोडलको मागअनुसार सेवा विस्तार गर्न कठिनाइ भइरहेको छ ।
आगामी तीनदेखि चार वर्षमा एआई क्षेत्रमा ठूलो सरकारी लगानी गर्ने चीनको योजना छ । उत्पादनदेखि स्वास्थ्य क्षेत्रसम्म एआईको प्रयोग बढाउने र यसलाई अर्थतन्त्रको नयाँ आधार बनाउने बेइजिङको रणनीति छ ।
चीनमा एआईको व्यावसायिक तथा उपभोक्ता प्रयोग तीव्र रूपमा बढिरहेको छ । विद्युतीय उपकरण उत्पादन, प्रविधि र दूरसञ्चार क्षेत्रमा भएको विस्तारले समेत आर्थिक वृद्धिमा योगदान पुर्याउन थालेको विश्लेषण गरिएको छ ।
क्यापिटल इकोनोमिक्सका जुलियन इभान्स–प्रिचार्डका अनुसार एआई चीनको आर्थिक वृद्धिको नयाँ इन्जिन बन्न सक्छ । “चीनको आर्थिक वृद्धिको नयाँ इन्जिनको रूपमा एआईको उदय भएको छ । यो वर्ष र २०२७ सम्म आर्थिक स्थायित्वको मुख्य स्रोत बन्न सक्छ,” उनले भनेका छन् ।
तर उनले एआईमा अत्यधिक निर्भर आर्थिक रणनीतिमा जोखिमसमेत रहेको चेतावनी दिएका छन् । “यदि विश्वव्यापी एआईमा भइरहेको ठूलो लगानीको उछाल असफल भयो भने यसले देशलाई जोखिममा पार्नेछ,” उनले चेतावनी दिएका छन् ।
चीनको अगाडि स्वतन्त्र नवप्रवर्तनको चुनौती
एआईको क्षेत्रमा चीनले तीव्र प्रगति गरे पनि उसको अगाडि अर्को ठूलो चुनौती स्वतन्त्र नवप्रवर्तन हो । एआईको दौडमा सफल हुन उच्चस्तरीय अनुसन्धान, स्वतन्त्र सोच र निजी क्षेत्रको उद्यमशीलता आवश्यक हुन्छ । तर चीनको राजनीतिक प्रणालीमा सरकारी नियन्त्रण बलियो भएकाले स्वतन्त्र विचार र नवप्रवर्तनले कति सहज वातावरण पाउँछ भन्ने प्रश्न उठेको छ ।
चिनियाँ सरकारले विगतमा सरकारी नीतिको आलोचना गर्ने प्रविधि उद्योगी तथा व्यवसायीमाथि कारबाही गरेको छ । विदेशमा विस्तार गर्ने योजना बनाएका केही व्यवसायीलाई समेत विभिन्न माध्यमबाट नियन्त्रण गरिएको छ ।
यसले निजी क्षेत्रको अनुसन्धान र नवप्रवर्तन क्षमतामा असर पार्न सक्ने विश्लेषण गरिएको छ । अर्कोतर्फ सरकारी सहयोगले डीपसिक र मुनसटजस्ता कम्पनीलाई तत्काल नाफा कमाउन नसके पनि सञ्चालनमा रहन र अनुसन्धान जारी राख्न सहयोग गर्न सक्छ । तर सरकारी प्राथमिकता प्राप्त कम्पनीलाई मात्र स्रोत उपलब्ध गराउने जोखिम पनि रहेको विज्ञहरूको भनाइ छ ।
कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका म्याट सियानका अनुसार चीनले आवश्यक परे एआई विकासलाई राष्ट्रिय अभियानकै रूपमा अघि बढाउन सक्छ ।
“कम्युनिस्ट पार्टीले एउटा ठूलो रणनीतिक निर्णय लिन सक्छ । उनीहरूले सबैका लागि पर्याप्त कम्प्युटिङ स्रोत नभएको भन्न सक्छन् । उनीहरू पहिला कृत्रिम सामान्य बुद्धिमत्तामा पुग्न चाहन्छन् । त्यसैले उनीहरू आफ्ना कम्प्युटिङ स्रोत र कम्पनीहरूलाई एकीकृत गर्न सक्छन् । उनीहरू एआईमा एउटा राष्ट्रिय म्यानह्याटन परियोजना चलाउन सक्छन्,” सियानले भनेका छन् ।
यद्यपि चीन त्यही बाटोमा जानेमा सियान स्वयं निश्चित छैनन् । तर चीन सरकार एआईको दौडबाट पछि हट्ने अवस्थामा भने देखिँदैन । आर्थिक भविष्य, प्रविधिगत आत्मनिर्भरता र महाशक्तिका रूपमा आफ्नो प्रभाव कायम राख्न चीनले एआईलाई रणनीतिक प्राथमिकतामा राखेको छ । त्यसैले आगामी वर्षहरूमा अमेरिका र चीनबीचको एआई प्रतिस्पर्धा अझ तीव्र हुने देखिएको छ ।
यो प्रतिस्पर्धाको परिणामले दुई देशको आर्थिक भविष्यमा मात्र होइन, विश्वव्यापी प्रविधि, सुरक्षा, व्यापार र शक्ति सन्तुलनमा समेत दीर्घकालीन प्रभाव पार्ने देखिन्छ ।