काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ‘ब्राञ्च म्यानेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित एक होटलमा सम्पन्न गरेको छ ।
सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा भएको कार्यक्रममा उनले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएकाले समयअनुसार आफूलाई तयार गर्दै व्यवसाय प्रवद्र्धन गर्नुपर्ने बताइन् ।
उनले कर्मचारीको क्षमता विकासका लागि आवश्यक तालिम तथा प्रशिक्षणमा कम्पनीले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।
अध्यक्ष सिंहले जीवन बीमा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगको सम्भावना बढ्दै गएको भन्दै प्रविधिको उपयोगमार्फत कम्पनीको डिजिटल मार्केटिङलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नयाँ आर्थिक वर्षको सुरुवात नयाँ सोच, प्रतिबद्धता र अवसरसहित अघि बढ्ने समय भएको बताए। उनले कर्मचारीको सामूहिक प्रयास र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक उचाइ थप बढाउन सकिने विश्वास व्यक्त गरे ।
सम्मेलनमा विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी २०० भन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिएका थिए।
जीवन बीमाको माध्यमबाट समेत सम्पत्ति शुद्धीकरणको सम्भावना रहने भएकाले कम्पनीका सबै तहका कर्मचारी यस विषयमा सचेत र जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, प्रशिक्षक विश्वराज पौडेलले एआईसम्बन्धी प्रशिक्षण दिँदै विभिन्न एआई टुलको प्रयोग र त्यसबाट बीमा व्यवसायलाई डिजिटल माध्यमबाट प्रभावकारी रूपमा मार्केटिङ गर्ने उपायबारे जानकारी गराए । कम्पनीका अनुसार, श्रीलंकाबाट आएका अन्तर्राष्ट्रिय प्रशिक्षक सुरन डी सिल्भाले प्रतिस्पर्धात्मक बीमा बजारमा व्यवसाय विस्तार तथा व्यावसायिक सफलता हासिल गर्ने उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए ।

सम्मेलनका अवसरमा आर्थिक वर्ष २०८०/८१ मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने पाँच शाखा कार्यालयलाई सम्मान गरिएको थियो । यस्तै, प्रथम बीमाशुल्क संकलन, सक्रिय अभिकर्ता उत्पादन तथा बीमालेख संख्याका आधारमा उत्कृष्ट तीन शाखा कार्यालयलाई पनि पुरस्कृत गरिएको कम्पनीले जनाएको छ । चेयरपर्सन क्लब र सीईओ क्लब योजनामा सबैभन्दा धेरै अभिकर्तालाई छनोट गराउन सफल एकरएक शाखा कार्यालयलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
सम्मेलनमा कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्य सुदृढ गर्ने उद्देश्यले सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो । पुरुष तथा महिला कर्मचारीको सहभागितामा ब्याडमिन्टन, टेबल टेनिस तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएको थियो ।
विभिन्न खेलमा उत्कृष्ट हुने कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले पुरस्कार प्रदान गरे । कम्पनीका अनुसार चारदिने सम्मेलनले आगामी व्यावसायिक रणनीति तय गर्नुका साथै शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीबीच समन्वय, क्षमता अभिवृद्धि र संस्थागत प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।