काठमाडौं । एनसेलले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँबाट उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ ।
स्थानीय रूपमा समर्थित यो प्लेटफर्म नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न सङ्गठनलाई लक्षित गरिएको एनसेलले जनाएको छ । डिजिटल माध्यममा व्यवसायको विस्तार भइरहेका बेला देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको भन्दै एनसेलले क्लाउडसुइट ल्याएको हो ।
एनसेल बिजनेस क्लाउडसुइटमार्फत ग्राहकले एउटै प्लेटफर्मबाट डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्नेछन् । प्लेटफर्ममा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन म्यानेजमेन्ट तथा केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसनलगायतका सुविधा उपलब्ध छन् ।
एनसेलले व्यवसायको आवश्यकता र विकासको चरणअनुसार दुई प्रकारका वेब होस्टिङ प्याकेज ल्याएको छ । मासिक रु. १ हजार पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधाहरू समावेश छन् ।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित गरिएको प्रो प्याकेजको मासिक शुल्क रु. २ हजार तोकिएको छ । यसमा बढी स्टोरेज र डेटा ट्रान्सफरका साथै २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुने एनसेलले जनाएको छ ।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले एनसेल बिजनेस क्लाउडसुइटको सुरुवात नेपालका व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग गर्ने महत्वपूर्ण कदम भएको बताए ।
उनका अनुसार डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको आधार भएकाले स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधामार्फत व्यवसायलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल बन्न सहज हुनेछ । क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवामा ध्यान केन्द्रित गरिएको उनले बताए ।
एनसेल बिजनेस क्लाउडसुइट प्रयोग गर्दा वेबसाइट होस्टिङ तथा डेटा नेपालभित्रै रहने कम्पनीले जनाएको छ । यसबाट ग्राहकले आफ्नो वेबसाइट डेटा तथा डिजिटल सम्पत्ति देशभित्रै राख्न सक्नेछन् । यसले व्यवसायलाई आफ्ना डेटामाथि थप नियन्त्रण कायम गर्न तथा नियामक आवश्यकताहरू पूरा गर्नसमेत सहज हुने एनसेलको भनाइ छ ।