काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल टी २५० एक्स सार्वजनिक गरेको छ ।
नेपालका लागि आधिकारिक विक्रेता बैद्यज अर्गनाइजेशनले २५० सीसी सेग्मेन्टको यो नयाँ मोटरसाइकल सार्वजनिक गर्दै बिक्रीसमेत सुरु गरेको हो ।
मंगलबारबाट सुरु भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसर पारेर इटालियन प्रिमियम मोटरसाइकल मोर्बिडेलीलाई प्रर्दशनीमा समेत राखेको छ ।
कम्पनीले मोर्बिडेली टी २५० एक्सको मूल्य ६ लाख २० हजार रुपैयाँ निर्धारण गरेको छ । यो नेपाली बजारमा उपलब्ध मोर्बिडेलीको सबैभन्दा किफायती मोटरसाइकल हो । नयाँ मोडलको आगमनसँगै कम्पनीले नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने अपेक्षा गरेको छ ।
यसअघि नेपाली बजारमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टअन्तर्गत टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर बिक्री हुँदै आएका छन् । टी २५० एक्सलाई कम्पनीले सोही लाइनअपमा इन्ट्री–लेभल एड्भेन्चर मोटरसाइकलका रूपमा प्रस्तुत गरेको हो ।
टी २५० एक्समा २४९.४ सीसी सिंगल सिलिन्डर, फोर–भल्भ, एयर–कुल्ड ईएफआई इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा अधिकतम २२.४ हर्सपावर र ६ हजार आरपीएममा २२.३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६–स्पिड गियरबक्स रहेको छ भने मोटरसाइकलको अधिकतम गति करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
मोटरसाइकलमा १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल, लङ–ट्राभल यूएसडी फ्रन्ट फोर्क तथा रियर प्रिलोड एड्जस्टेबल मोनोशक दिइएको छ । त्यसैगरी स्पोक ह्वील, डिस्क ब्रेक र डुअल–पर्पस टायरले सडक तथा अफरोड दुवै अवस्थामा स्थिरता र नियन्त्रणमा सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।
१५४ किलोग्राम तौल रहेको टी २५० एक्समा २२० एमएम ग्राउण्ड क्लियरेन्स, ८२० एमएम सिट हाइट र ११.७ लिटर क्षमताको फ्युल ट्यांक रहेको छ । यसले नेपाली सडक तथा अफरोड यात्राका लागि आवश्यक उच्च ग्राउण्ड क्लियरेन्स र पर्याप्त राइडिङ क्षमता प्रदान गर्ने कम्पनीको विश्वास छ ।
एड्भेन्चर र टुरिङ रुचाउने मोटरसाइकल पारखीहरूलाई लक्षित गरी ल्याइएको टी २५० एक्सले आफ्नो आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिमार्फत नेपाली बजारमा नयाँ उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
वैद्यज अर्गनाइजेशनका अनुसार टी २५० एक्सले नेपाली बजारमा किफायती मूल्यमा एड्भेन्चर मोटरसाइकल खोज्ने ग्राहकलाई लक्षित गरेको छ । नयाँ मोडलमार्फत मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टलाई थप फराकिलो बनाउँदै नेपाली युवा तथा एड्भेन्चर राइडरमाझ ब्राण्डको पहुँच विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको छ ।