काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षमा नाफा आर्जनसँगै विद्युत बिक्री तथा सञ्चालन आम्दानीमा पनि सुधार गरेको छ।
कम्पनीले असार मसान्तसम्म ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २१ करोड ७३ लाख ३६ हजार रुपैयाँको तुलनामा ५४.३४ प्रतिशत बढी हो।
कम्पनीको विद्युत बिक्री तथा सेवा शुल्कबाट हुने आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ८० करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ७३ करोड ३७ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको मुख्य सञ्चालन आम्दानी करिब ९.२४ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको सञ्चालन नाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा २६ करोड ६० लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षमा बढेर ४२ करोड १९ लाख रुपैयाँ पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीको प्रतिशेयर आम्दानी ९.८४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१०.८७ रुपैयाँ रहेको छ।