काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुको उच्च तह चियरम्यान क्लब तथा सीईओ क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ।
पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म ४ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भव्य रुपमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन कम्पनीको सञ्चालक समितिकी अध्यक्ष सम्झना अर्यालले गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष अर्यालले अभिकर्ता पेसालाई मर्यादित र सम्मानित पेसाका रुपमा अँगालेर उत्कृष्ट व्यवसाय गरी अवार्डेड हुनु भएका सबै अभिकर्तालाई कम्पनीले गरेको सम्मानले अझ हौसला प्रदान गर्ने र आगामी दिनमा पनि कम्पनीका तर्फबाट उच्च मनोबलका साथ व्यवसाय गर्न साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले लगनशीलता र निरन्तरताले प्राप्त सफलता नै साँचो सफलता रहेको बताए। ‘तपाइँहरुको सफलतालाई उत्सवका रुपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय रहेको हो’, उनले भने, ‘टिम वर्कले नै सफलता सम्भव हुने हुनाले यसमा काम गरी अगाडि बढ्दा आगामी वर्ष अझ ठूला सफलता हात पर्ने मलाई विश्वास छ।’

कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ ट्रेनिङ सेसनले अभिकर्ताहरुको व्यावसायिक क्षमता वृद्धि गर्न ऊर्जा प्रदान गरेको थियो। कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक र अभिकर्ता गरी देशैभरिबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति थियो।
आर्थिक वर्ष २०८२।८३ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको उच्च तह चियरम्यान क्लब तथा दोस्रो उच्च तह सीईओ क्लब अवार्डबाट विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली चलचित्रका प्रसिद्ध अभिनेता, मोडल तथा निर्माता प्रदिप खड्काको विशेष उपस्थिति थियो। कार्यक्रममा विशेष समय लिएर अभिनेता खड्काले आफ्नो संघर्ष र सफलताका वास्तविक जीवन कहानीलाई रोचर एवं प्रेरणादायी रुपमा प्रस्तुत गरेका थिए।
प्रभु महालक्ष्मी लाइफले अभिकर्तालाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम उत्कृष्ट रुपमा गर्दै आइरहेको छ।