काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण सम्पर्क विहीन भएकामध्ये हालसम्म ४६९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ४६९ जनाको शव फेला परेको हो ।
शव फेला पर्नेमा सबैभन्दा धेरै चितवनमा १७८ जना र नवलपरासी पूर्वमा ११० जना रहेका छन् । यसैगरी गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
विपद्को यस समयमा उद्धार र खोजी कार्यलाई तीव्रता दिन देशभर ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । तर, उद्धार कार्यकै क्रममा २८ जना प्रहरी कर्मचारीहरू अझै पनि सम्पर्कविहीन रहेका छन्, जसको खोजी कार्य जारी छ ।
बाढी र पहिरोका कारण जोखिममा परेका तथा घाइते भएका १ हजार ५४५ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये नुवाकोटबाट ८९८ जना, रसुवाबाट ६४४ जना र धादिङबाट ३ जना रहेका छन् ।

यसैबीच, बाढीमा परी घाइते भएकामध्ये ८४ जनाको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको वा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।